कोरोना संक्रमणको त्रासकै कारण आधा दर्जनभन्दा बढी फिल्म प्रदर्शन स्थगित

१९ चैत, काठमाडौं । यही चैत २७ गते प्रदर्शन गर्ने तयारीमा थिए फिल्म ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’। तर, कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै यी दुई वटै फिल्मले प्रदर्शन मिति स्थगित गरेका छन्।

साताअघि ‘लप्पन छप्पन २’ निर्माण पक्षले अनिश्चितकालका लागि फिल्मको प्रदर्शन स्थगित गरेको जनाएको छ। यही अवस्था छ, फिल्म ‘मनसँग मन’को पनि। गत सोमबार फिल्मका निर्देशक कैलाश राईले तत्कालका लागि फिल्मको प्रदर्शन मिति सारेको बताए।

चैत २७ गते प्रदर्शनको घोषणा गरिएको फिल्म ‘कृष्ण लीला’ले प्रदर्शन स्थगित त गरेको छैन। तर, तोकिएकै समयमा फिल्म प्रदर्शन हुन्छ वा हुँदैन भन्नेबारे टुंगो लागिसकेको छैन।

फिल्म ‘कृष्ण लीला’ लेखक लक्ष्मण सुवेदी फिल्मको प्रदर्शन मिति सार्ने पक्षमा निर्माण पक्ष नरहेको बताउँछन्। ‘तर, कोरोना संक्रमण बढे फिल्म प्रदर्शन मिति स्थगित गर्न सकिने छ,’ उनले भने।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान कोरोना संक्रमणको जोखिम कम नभएकाले फिल्म प्रदर्शन गर्न निर्मातालाई भन्न नसकिने अवस्था रहेको बताउँछन्।

‘फिल्ममा करोडौं लगानी लागेको हुन्छ। सरकारले फिल्म हलमा ५० प्रतिशत मात्र दर्शक राख्नुपर्ने मापदण्ड कायमै राखेको छ। यो फुकुवा नहुन्जेल निर्मातालाई लगानी उठाउन गाह्रो हुन्छ,’ उनले कारण खुलाए।

कोरोना संक्रमणको त्रासकै कारण आधा दर्जनभन्दा बढी फिल्म भए पनि प्रदर्शन हुन सकेका छैनन्। ती हुन्, ‘लक्का जवान’, ‘प्रेम गीत ३’, ‘चपली हाइट ३’, ‘शिरफूल’, ‘परदेशी २’, ‘ए मेरो हजुर ४’लगायत। तीमध्ये ‘लक्का जवान’, ‘प्रेम गीत ३’, ‘चपली हाइट ३’ र ‘शिरफूल’ अघिल्लो वर्ष नै तयार भएका थिए। ती फिल्मले प्रदर्शन मितिसमेत तोकिसकेका थिए। तर, कोरोना संक्रमण फैलन थालेपछि फिल्म प्रदर्शन हुन सकेनन्।

कोरोना महामारीपछि सरकारले फिल्म हल खोल्ने अनुमति दिएको तीन महिना बित्यो। त्यसयता दुई वटा मात्रै फिल्म प्रदर्शन भए। ती हुन्, ‘एउटा यस्तो प्रेम कहानी’ र ‘गोर्खे’।

फिल्म प्रदर्शन भए पनि हलमा दर्शकको उपस्थिति न्यून देखियो। जसका कारण फिल्मको व्यापार त्यति राम्रो हुन नसकेको हल सञ्चालक बताउँछन्। कोरोना त्रास र सरकारले फिल्म हल खोल्न जारी गरेको मापदण्डका कारण हलमा दर्शक नआएको हल सञ्चालकको भनाइ छ । सरकारले जारी गरेको मापदण्डमा हलमा सिट संख्याको ५० प्रतिशत मात्रै दर्शक राख्न पाउने व्यवस्था छ।

अध्यक्ष प्रधान कोरोना महामारीका कारण फिल्म क्षेत्र चलायमान हुन अझै समय लाग्ने बताए। ‘मानिसमा कोरोना त्रास कायमै रहनु र फिल्म मानिसका लागि अति आवश्यक नहुनुले फिल्म क्षेत्र चलायमान हुन केही समय अझैँ लाग्छ,’ उनले भने।

फिल्म प्रदर्शन कहिले होलान् त ? चलचित्र कलाकार संघका अध्यक्ष प्रधान कोरोना संक्रमणको त्रास कम भएपछि फिल्म प्रदर्शन हुने आशा राख्छन्। कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु र छिमेकी भारतमा कोरोना संक्रमण बढ्नुले नेपालमा कोरोना त्रास देखिएको छ।

नेपालमा गत माघ ५ यता सय जनामा कोरोना भाइरसको युके भेरियन्ट संक्रमित भइसकेको छ।

भारतमा पनि धमाधम फिल्म प्रदर्शन स्थगित हुन थालेका छन्।

कोरोना संक्रमण दर बढेपछि फिल्म प्रदर्शन मिति स्थगित गरिएको भारतीय समाचार संस्थाले जनाएका छन्।

भारतीय समाचार संस्थाका अनुसार अक्षयकुमार अभिनित ‘सूर्यवंशी’को प्रदर्शन मिति सरेको छ। उक्त फिल्म यही अप्रिल २९ मा प्रदर्शन गर्ने तय गरिएको थियो।
कोरोना संक्रमण बढेपछि बलिउड फिल्मका प्रदर्शन मिति स्थगित गरिएको बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले जनाएका छन्।

यस्तै, फिल्म ‘चेहेरे’को पनि प्रदर्शन मिति स्थगित गरिएको छ। उक्त फिल्मको रिलिज अप्रिल ९ मा हुने भनिएको थियो। फिल्म ‘बन्टी और बब्ली २’ र ‘हाथी मेरे साथी’ले पनि प्रदर्शन मिति स्थगित गरेका छन्। दुवै फिल्मले केही साताअघि फिल्मको प्रदर्शन मिति स्थगित गरेको जनाएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment