सेयर बजारमा आकर्षक हरियाली, बैंकमा पनि आउन थाल्यो तेजी

१८ चैत, काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि नयाँ उमंग थपिएको हो । लगातार दोस्रो दिन पनि सेयर बजारमा हरियाली छाएको छ । आइतबारको सार्वजनिक बिदापछि सोमबारबाट खुलेको सेयर बजारमा यो साता आज लगातार दोस्रो दिन पनि उच्च अंकको वृद्धि देखिएको छ ।

बुधबार सेयर बजार परिसूचक नेप्से १.६८ प्रतिशतले वृद्धि हुँदा एक महिनापछि २६०० अंकबाट माथि लागेको छ । मंगलबार २५७५.६७ अंकमा बन्द भएको नेप्से बुधबार प्रि–ओपन सेसनमा नै करिब २१ अंकले बढेर २५९६.६६ अंकमा खुदेको थियो । त्यसपछि सुरुवाती समयमा केही स्थिरता देखिएको र नेप्सेको टीएमएसमा देखिको समस्याका कारण एक घण्टाभन्दा बढी समय कारोबार रोकिएको थियो ।

कारोबार रोकिएको कारण कारोबार समय एक घण्टा थप भएर अपराह्न ४ बजेसम्म खुलेको बजारमा बुधबार नेप्से ४३.३६ अंकले वृद्धि भएर २६१९.०३ अंकमा बन्द भएको छ । आजको इन्ट्रा–डे कारोबारमा नेप्सेले २५९२.८० अंकको तल्लो विन्दु कायम गर्दा उच्च विन्दु भने क्लोजिङ विन्दुनजिकै २६१९.१५ अंक कायम गरेको छ ।

गएको फागुन ९ गते २६४० अंकको ऐतिहासिक विन्दुमा पुगेर फागुन ११ मा २६०० अंकबाट ओरालो लागेको नेप्से करिब २३९० अंकको विन्दुसम्म झरेको थियो । पछिल्लो दुई सतादेखि लगातार बढिरहेको बजार परिसूचकले पुनः २६०० अंकको विन्दु पार गरेको छ ।

नेप्सेसँगै उपसूचकमा पनि हरियाली छाएको छ । व्यापारबाहेक अन्य सबै उपसूचकमा हरियाली छाउँदा निर्जीवन बिमा उपसूचक सर्वाधिक २.६२ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३१ प्रतिशतले बढेको छ । व्यापार उपसूचक भने २.२७ प्रतिशतले घटेको छ ।

टीएमएमा समस्याको बाबजुत पनि बुधबार ६ अर्बमाथिको कारोबार भएको छ । ६७ हजार १४८ कारोबारमा बुधबार २०९ कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड ६८ लाख ६२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार कारोबार रकममा बजारको नेतृत्व जलविद्युतु लगानी तथा विकास कम्पनीले गरेको छ । कम्पनीको ३६ करोड ३७ लाख ५४ लाखको कारोबार हुँदा अपर तामाकोसीको ३१ करोड ९७ लाख ६ हजार र नेपाल इन्फ्रास्ट्रचर बैंकको ३० करोड २६ लाख २३ हजारको कारोबार भएको छ ।

बजारमा सेयरको भाउ सस्तो भइरहेको छ । यस्तो बेला सबल वित्तीय सूचक भएका कम्पनीहरुको भाउ सस्तो मूल्यमा किन्न पाउने भएपछि आम लगानीकर्ता उत्साहित बनिरहेको देखिन्छ । अब विस्तारै वित्तीय प्रणालीमा तरलता थप मजबुत हुँदै जानेछ । नयाँ बजेटको निर्माण तयारी सुरु भइसकेको छ । अब चालु वर्षको विकास निर्माणले तीब्रता पाउनेछ । सरकारी खातामा रहेको पैसा बैंक तथा वित्तीय संस्थामा आउनेछ । यसले पनि तरलता थप सहज बनाउन सहयोग पुग्नेछ ।

बजार परिसूचकमा हरियाली छाउँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा महिला लघुवित्त, वोमी लघुवित्त, अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।

यता, रैराङ हाइड्रपावर बाटलर्स नेपाल तराई र युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयर मूल्य भने ३ प्रतिशतमाथिले घटेका छ । बुधबार कारोबार भएका कम्पनीमध्ये १११ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ४९ कम्पनीको घटेको छ र १९ कम्पनीको भने स्थिर रहेकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment