होली खेल्ने क्रममा पानी सम्झेर एसिड छ्याप्दा ३ जना विद्यार्थी घाइते

१६ चैत, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा पानी सम्झेर एसिड छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् ।

आइतबार होली खेल्दा पानीको साटो एसिड छ्यादा घाइते भएका उनीहरुको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको छ । घाइते तीनै जना नविन ग्राम मावी शंकरापुरमा अध्ययनरत विद्यार्थी हुन् । १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन् । पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

चापाकोटको एउटा दूध डेरीबाट बालकले उक्त ग्यालिन ल्याएर दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएकोछ । प्रहरीका अनुसार उक्त ग्यालिनमा पानीको साटो सल्फ्युरिक एसिड परेको थियो। घटना घटेपछि सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आरोपी र घाइतेहरुको बीचमा सामान्य चिनजान थियो । आइतबार होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले आरोपी किशोरहरुलाई ग्यालिन लगिदिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment