सोमबार सेयर बजारमा सामान्य सुधार

०९ चैत, काठमाडौं । सोमबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । चार दिन लगातार बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पाँचौँ दिन २४ अंकले घटेको हो ।

सोमबार बजारमा ५ अर्ब २५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भए । परिसूचक भने २४.०८ अंकले ओर्लिएर २५१४.३९ अंकमा आइपुगेको छ । बजारमा २११ कम्पनीका १ करोड ९ लाख ३१ हजार कित्ता सेयर किनबेच भए ।

होटेल तथा पर्यटन र जलविद्युत् समूहका उपसूचकबाहेक सबै समूहको उपसूचकमा गिरावट आउँदा नेप्से घटेको हो । पछिल्लो समय सेयर बजारले अस्थिर रुप देखाउन थालेकामा लगानीकर्ताले आज प्रोफिट गरेका हुन् ।

घट्नेमा उत्पादनमूलक समूहको उपसचूक सर्वाधिक २.२७ प्रतिशतले ओरालो लागेको हो । यस्तै, लघुवित्त समूह २.०३ प्रतिशतले ओर्लियो ।

नेप्से घटे पनि सोमबार चन्द्रागिरि हिल्स र अपर तामाकोसीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अपरको मूल्य ६६ रुपैयाँले बढेर प्रतिकित्ता ७२६ रुपैयाँ कायम भएको छ । यस्तै, चन्द्रागिरिका लगानीकर्ताले एक कित्तामा १४२ रुपैयाँ कमाए । चन्द्रागिरिको सेयर मूल्य प्रतिकित्ता १५ सय ६३ रुपैयाँ पुगेको छ ।

आज ३३ कम्पनीको मात्र मूल्यवृद्धि हुँदा १३८ कम्पनीको सेयर मूल्य भने घटेको छ । कारोबार रकमका हिसाबले सोमबारको कारोबारमा अपर नै अगाडि रह्यो । कम्पनीको ४६ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भयो ।

कारोबार सुरु भएको १० मिनेटसम्म स्थिर रहेको सेयर बजार त्यसपछि १५ मिनेटमै भारी अंकले गिरावट आएको थियो । त्यसयता सुधारिने पटक–पटक प्रयास गरेको भए पनि नेप्से फर्कन सकेन । अन्ततः बजार परिसूचक ०.९५ प्रतिशतले घटेर बन्द भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment