नेपाल बंगलादेश बैंकले सुन्दरहरैँचा नगरपालिकाका युवालाई ४% ब्याजदरमा कर्जा दिने

०२ चैत, काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिकाका युवा उद्यमीलाई ४ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।

बैंक र नगरपालिकाबीच नगर क्षेत्रभित्रका युवाले उद्यम गर्न चाहेमा ४ प्रतिशत ब्याजदरमा २ देखि १५ लाखसम्म उपलब्ध गराउने सम्झौता भएको हो ।

कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ कार्यालय प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सहुलियतपूर्ण ऋण लिन चाहने युवा उद्यमीले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिस गर्नेछ । वडाको सिफारिसका आधारमा नगरपालिकाले बैंकसँग ऋण प्रदान गर्न सिफारिस गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरपालिकाले उठाउन पहल गर्ने र त्यस्तो ऋणीलाई राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाका उद्यमशील युवाका लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा बैंकले अधिकतम ७ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि योजना ल्याइएको उनले जानकारी दिए । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment