महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

१ चैत, काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । ९५१ रुपैयाँ, ७५१ रुपैयाँ, ५५१ रुपैयाँ, ३५१ रुपैयाँ, २५१ रुपैयाँ र १५१ रुपैयाँ गरी छ वर्गमा विभाजन गरी दुई हजार साधुसन्तलाई दक्षिणासहित आज बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

नागाबाबालाई भने दक्षिणासहित २०० ग्राम र १०० ग्रामको पेडासहित बिदाइ गरिएको छ । वरिष्ठ नागाबाबालाई २०० ग्राम र कनिष्ठ नागाबाबालाई १०० ग्रामको पेडासहित बिदाइ गर्ने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा १०० जना नागाबाबा आएको संस्थानले जनाएको छ ।

दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुन कृष्ण एकादशीका दिन शीतलनिवासमा संकल्प गरेको सामग्रीसमेत वितरण गरिएको छ । बाँकी साधुसन्तलाई आइतबार पनि दक्षिणासहित बिदाइ गरिने जनाइएको छ ।

पशुपतिमा आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच, पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment