उपप्रधानमन्त्रीले गरे झुटो दाबी !

२९ फाल्गुन, काठमाडाैं । काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा नेकपा (एमाले) ओली समूहनिकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । “कम्युनिस्ट हुँ भनेर, लोकतन्त्रको पक्षधर छु भनेर नथाक्नेहरुले त्यसलाई टेबुल गर्न दिएनन् । महिलामाथि एसिड आक्रमण गर्ने अपराधीहरुलाई दण्डित गर्न ल्याइएको अध्यादेश टेबुल गर्न दिएनन् । महिलामाथि हिंसा गर्नेहरुमाथि दण्डित गर्ने अध्यादेश थियो, त्यसलाई टेबुल गर्न दिएनन् । त्यसको विरोध गर्ने क्रममा अग्रपंक्तिमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा उभिनुभएको थियो । हामीहरु उहाँहरुका यी कुराहरुलाई घृणापूर्वक अस्वीकार गर्दछौँ,” उनले भने ।

उनले थपे, “महिला हिंसाको विरुद्धमा हामीले जुन कदम चालेका थियौँ, त्यो चिज कायम रहनेछ । एसिड आक्रमण गर्ने अपराधीहरुलाई दण्डित गर्ने कुरा, बलात्कारजस्तो जघन्य अपराध गर्नेहरुलाई कानुन बनाएर दण्डित गर्नेछौँ । यो कुरा पनि तपाईंहरुलाई म विश्वास दिलाउन चाहन्छु ।”

उनले महिला हिंसाका दोषीलाई कारबाही गर्न ल्याएको अध्यादेश पेस गर्न नदिएको दाबी गरे पनि फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश संविधानको व्यवस्थाविपरीत ल्याएको भन्दै विरोध गरेको थियो । कांग्रेसको विरोधपछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । उक्त बैठकमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’, ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ लगायतका अध्यादेश पेस गर्ने कार्यसूची थियो ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनका लागि अनेकन खेलहरु भइरहेको भन्दै त्यसविरुद्ध खबरदारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, “मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल सुरु गरिएको छ । राष्ट्रिय स्वभिमान, स्वतन्त्रताको विपक्षमा वातावरण बनाउनका लागि सहयोग पुर्‍याउने काम गरिएको छ । मुलुकमा अराजकता र अस्थिरता सिर्जना गर्ने, सामाजिक सद्भावलाई भड्काउने काम गरिएको छ । हामी सबैले ती कुकर्महरुको विरोध गर्नुपर्ने जरुरी छ । देशको राजनीतिमा देखा परेका यी प्रवृत्तिहरु र यी प्रवृत्ति बोक्ने पात्रहरुको विरुद्धमा हामीले सशक्त ढंगले आफूलाई उठाउनुपर्ने जरुरी छ ।”



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment