राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरले आज पदभार ग्रहण गर्दै

२६ फाल्गुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरद्वय निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले आज पदभार ग्रहण गर्ने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर नियुक्त गरेका ढुंगाना र मिश्रले आजै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गर्ने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

आज अपराह्न साढे ४ बजे शपथग्रहण कार्यक्रम राखिएको र त्यसलगत्तै उनीहरुले कार्यभार ग्रहण गर्ने पोखरेलले बताए ।

डेपुटी गभर्नरले गभर्नरसमक्ष शपथग्रहण गरेर कार्यभार ग्रहण गर्नुपर्ने हुन्छ । डेपुटी गभर्नरमा नियुक्त ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभागका प्रमुख र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख थिए ।

ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिलासमेत हुन् । यसअघि, राष्ट्र बैंकको गभर्नर वा डेपुटी गभर्नरमा कोही पनि महिला नियुक्त भएका थिएनन् ।

यही फागुन १८ गते पाँच वर्ष कार्यकाल पूरा गर्दै डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ बाहिरिसँगै रिक्त रहेको डेपुटी गभर्नरमा मन्त्रिपरिषद्ले ढुंगाना र मिश्रलाई नियुक्त गरेको हो । डेपुटी गभर्नर नियुक्त भएका दुवैजना झापाका हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment