पुनर्स्थापित संसद्‍को पहिलो बैठक आज बस्दै, के-के छन् कार्यसूची ?

२३ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाकाे सातौं अधिवेशन आज (आइतबार)देखि शुुरु हुुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएकाे छ ।

अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयाे । सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरिएको उहाँले बताउनभयाे ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको आदेश गरेपछि प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।

संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय अन्तराल हुुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौं अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौं अधिवेशन भने पुुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो ।

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताका विषयमा विवाद भई दुुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरिरहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका छन् ।

नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दलका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्नुभएकाे छ । दाहाल–नेपाल नेतृत्वमा रहेको नेकपा समूहले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरिएको सूचना संसद् सचिवालयलाई दिएको जानकारी गराएको छ ।

अहिले प्रतिनिधिसभामा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको प्रतिनिधित्व छ । नेकपाका सानु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुईदुई सांसद अदालतको आदेशानुसार निलम्बनमा छन् । संवैधानिक व्यवस्थानुुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका एकएक तथा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामा स्वतन्त्र सांसदका रुपमा प्रतिनिधिसभामा छन् ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा निकै अर्थपूर्ण रुपमा हेरिएको प्रतिनिधिसभाको आगामी बैठकमा सभामुखसहित २७० सांसद सहभागी हुुनसक्ने देखिन्छ । विधेयक अधिवेशनका रुपमा रहने यो हिउँदे अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेका ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ ।

यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ । यद्यपि कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुनुअघि बस्ने बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले अधिवेशनको पहिलो दिन राष्ट्रपतिको सदन आह्वानसम्बन्धी सन्देश वाचन, विगतमा जारी भएका अध्यादेश अनुुमोदनका लागि प्रस्तुुत, दलका शीर्ष नेताको शुभकामना मन्तव्य र यसबीचमा निधन भएका सांसद तथा पूर्वसांसदको सम्मानमा शोक प्रस्तावजस्ता विषय कार्यसूचीमा हुनसक्ने जानकारी दिए ।

भूूगोल र जनसङ्ख्याका आधारमा कायम गरिएको निर्वाचन क्षेत्रबाट पहिलो हुुने निर्वाचित हुने निर्वाचन प्रणालीद्वारा निर्वाचित १६५ तथा समानुुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० समेत गरी प्रतिनिधिसभा २७५ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेस’ र सदनकाे गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment