रोजगारीका लागि भिजिट भिसामा यूएई पुगेका ७ नेपाली अलपत्र , दूतावासको फोन उठ्दैन, सडकमा बास भयो – पीडित

२० फागुन, काठमाडौं । भिजिट भिसामा रोजगारीका लागि यूएई पुगेका कपिलवस्तुका सात जना अलत्रप परेका छन् । एक महिनाअघि उनीहरू यूएई पुगेका थिए ।

कपिलवस्तुका कमल भण्डारी, गंगाराम भण्डारी, अशोक भण्डारी, विनोदबहादुर दर्जी, कमल न्यौपाने, विष्णु बेलबासे र प्रदीप शर्मा भिजिट भिसामा यूएई पुगेका थिए । उनीहरूलाई गणेश मगरले यूएई पुर्‍याएका थिए ।

एजेन्ट गणेश मगरलाई प्रतिव्यक्ति तीन लाखका दरले पैसा बुझाएर भिजिट भिसामा यूएई गाएको उनीहरूले जानकारी दिएका छन् । मगरले सुरक्षा गार्ड, होटल र क्रुजको रोजगारीमा लगाइदिने भनेर ल्याएको पीडितहरुले यूएईबाट शिलापत्रलाई जानकारी दिए ।

नेपालबाट भिजिट भिसामा यूएई आए पनि रोजगारी नपाएपछि अलपत्र परेको उनीहरुको भनाइ छ ।

नेपालबाट एजेन्ट मगरले राम्रो कम्पनीमा रोजगारी लगाइदिने भनेर यूएई ल्याएर अलपत्र परेको पीडित प्रदीप शर्माले बताए ।

नेपाल फर्किन साथमा पैसा नभएकाे र यूएईमा रोजगारी नपाएकाले आफूहरु अलपत्र परेको शर्माले बताए ।

‘हामी सातै जना एक महिनादेखि यूएईको शारदा शहरको पेटीमा बसेको छौँ । एजेन्ट मगर सम्पर्कबाहिर छन् । यूएईस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा दूतावासको फोन उठाउँदैनन्,’ उनले भने, ‘एक छाक खाना मागेर खाँदैछौँ । रोजगारीका लागि यूएई आएका नेपालीले खानाका लागि सहयोग गरिरहेका छन् । स्वदेश फर्कनका लागि दूतावाससँग गुहार मागिररहेको छौँ ।’

भिजिट भिसामा आएका धेरै नेपाली यूएईमा अलपत्र भएर बसेको उनको भनाइ छ । एजेन्टले रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा ल्याएर यूएईमा अलपत्र परेर भाग्ने गरेको शर्माले जानकारी दिए ।

यूएईमा २ हजारभन्दा बढी भिजिट भिसामा आएका नेपाली अलपत्र अवस्थामा रहेको देखेको गंगाराम भण्डारी बताउँछन् । पुरुष मात्र नभइ भिजिट भिसामा आएका महिला पनि यूएईमा अलपत्र परेर घुमिरहेको भण्डारीले बताए । ‘यूएईमा रहेको नेपाली दूतावासले भिजिट भिसामा आएर अलपत्र परेका नेपालीको समस्या सुन्दैन ।

अलपत्र भएको विषयमा दूतावास जानकार भए पनि बेवास्ता गर्दै आएको छ,’ उनले भने, ‘रोजगारीमा आएर अलपत्र परेका नेपाली रुँदै जाँदा पनि दूतावास मौन छ । कतिपटक फोन गर्‍यौँ हामीले, दूतावासको फोन उठ्दैन ।’

नेपालीदे दु:ख पाउँदा दूतावासले रमिता हरेर बसेको उनको आरोप छ । पछिल्लो समय एजेन्टले भिजिट भिसामा यूएईमा रोजगारीको प्रलोभन देखाएर नेपाली लैजाने गरेका छन् ।

मानव तस्करको आँखा ग्रामीण भेगका महिलामाथि पर्ने गरेको छ । गाउँगाउँमा एजेन्ट राखेर म्यानपावर र मानव तस्करले भिजिट भिसाका नाममा महिला तस्करी गरिरहेको पाइएको छ ।

गत भदौ महिनायता भिजिट भिसामा करिब ११ हजार नेपाली यूएई पुगेको अध्यागमन विभागको तथ्यांक छ । भिजिट भिसामा गएका ९० प्रतिशत व्यक्ति रोजगारीका लागि उतै बस्ने गरेको गृह मन्त्रालयको एक अध्ययनमा उल्लेख छ ।

भिजिट भिसामा गएका नेपाली यूएईमा अलपत्र पर्न थालेपछि नेपाली दूतावासले सूचना जारी गदै श्रम स्वीकृति लिएर मात्र आउन आग्रह गरेको छ ।

भिजिट भिसामा यूएई पुगेका नेपाली महिलालाई कुवेत, ओमान, इरान, इराक र खाडीका अन्य देशमा मानव तस्करले घरेलु रोजगारीमा लैजाने गरेको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment