मलेसियाले आप्रवासी श्रमिक रोक्दा नेपाललाई के असर पर्छ ?

२६ चैत, काठमाडाैं । नेपाल रेमिट्यासबाट नै धानिएको छ भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको आठ महिनामा मात्र विभिन्न मूलुकमा गएका नेपालीबाट ९ खर्ब ६१ अर्ब २२ करोड रेमिट्यास भित्रिएको छ ।

आठ महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया जानेको संख्या तेस्रो स्थानमा छ । तर मलेसियाले जेठ १८ अर्थात् मे ३१ देखि लागू हुनेगरी आप्रवासी श्रमिकलाई रोक लगाउने भएको छ । यसले देशको अर्थतन्त्रमा बाधा पुग्ने वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन् ।

मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य हो । विगत केही वर्षदेखि मलेसिया जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको छ । तर, अब मलेसियाले आप्रवासी श्रमिकलाई रोक लगाउने निर्णयले नेपालको बेरोजारी दर बढ्ने सम्भावना रहेको विज्ञ गुरुङको भनाइ छ । उता, मलेसियाको यो निर्णयले अवैधानिक तरिकाले मलेसियामा काम गरिरहेका नेपालीलाई पनि असर पुग्ने उनले बताए ।

अब सरकारले मलेसिया र अन्य देशको भर नपरी आफ्नै देशमा रोजगारीको सिर्जना गर्नुपर्ने उनको तर्क छ । अहिले मात्र होइन, मलेसियाले केही वर्ष अगाडि पनि आप्रवासी श्रमिक प्रवेशका रोक लगाएको थियो, उनले भने “अब अरु देशको भर नपरी नेपालले आफ्नै देशमा नै रोजगारी दर वृद्धि गर्नुपर्छ ।”

मलेसियामा मासिक ५ हजारको हाराहारीमा नेपाली श्रमिक जाने गरेका छन् । चालू आर्थिक वर्षको सात महिनामा मात्र ४२ हजार ६ सय ४८ जना नेपाली कामदार मलेसिया गएका छन् । माघमा मात्रै ५ हजार ४ सय ७७ जना नेपाली कामको खोजीमा मलेसिया गएका छन् । यस्तै, पुसमा ५ हजार ६ सय ८३, मंसिरमा ६ हजार ४ सय २३, कार्तिकमा ३ हजार ९ सय ६७, असोजमा ६ हजार ४ सय ४४ जना नेपाली कामदार मलेसिया गएका थिए भने भदौमा ६ हजार ८ सय ४० जना र साउनमा सात हजार आठ सय १४ जना वैदेशिक रोजगारीको लागि बाहिरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको नेपालस्थित मलेसियन दुतावासले जनाएको छ ।

मलेसियाको गृह मन्त्रालयले नेपालसहित १५ देशका नागरिकलाई मे मसान्तपछि प्रवेश नदिने भएको दुतावासले जनाएको छ । यद्यपी, सेक्युरेटी गार्डलाई भने मलेसिया प्रवेशमा रोक नलगाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment