१५ लाखका बुंगुर मरेपछि दुनाटपरी उन्न थाले आमाहरु

१८ वैशाख, बागलुङ । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई २ महिना अघिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा दिनभर मोबाइलमै झुन्डिन थालेकी थिइन् ।

तर हिजोआज पुनको चिन्ता दूर भएको छ । उनी अचेल हरेक दिन उद्यमशील महिला मगर संघले चलाएको दुना टपरी उद्योग जान थालेकी छन् । उनलाई अहिले उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन ।

दुई महिना अगाडि उद्यमशील महिला मगर संघले सञ्चालन गरेको टुना टपरी उद्योगमा पुनजस्तै अधबैंसे र वृद्ध महिलाहरु भेटिन्छन् । उद्योगमा कोही टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ ।

उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलाहरुलाई भ्याइनभ्याइ छ । गत फागुनदेखि सञ्चालनमा आएको उद्योग महिलाहरुको गतिलो आयस्रोतको माध्यम बन्न थालेको छ । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गएका सालका पातले पनि बजार पाउन थालेको छ । उद्योगमा २८ महिला आवद्ध छन् । विसं २०७६ देखि महिलाहरुले संगठित भएर बंगुर पालन थालेका थिए ।

महिलाहरुले अघिल्लो वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण छ सय बंगुर मरेपछि दुनाटपरी उद्योग सञ्चालन गरेका हुन् । बुंगुर मर्दा १५ लाख रुपैयाँ बढी नोक्सानी भएको थियो । आम्दानी गर्न ठिक्क परेको बुंगुर मरेपछि उनीहरु दुनाटपरीतिर सोझिए । उनीहरुले सुरुवाती चरणमै दुई महिनाको अवधिमा करिब २ लाख रुपैयाँ आम्दानीसमेत गरेका छन् ।

भद्रकलीले छोरी, बुहारी र नातिहरुसँगै दिनभर उद्योगमै बसेर टपरी बुन्छिन् । सुख, दुःखका मन्थन गर्दागर्दै दिन बितेको थाहै नहुने बताइन् । ‘दिनदिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गर्थ्या, अहिले यहाँ धेरै नानीहरु आउँछन्, उनीहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन,’ उनी भन्छिन् ,’नानीहरुले धेरै राम्रो काम गरेका छन्, म बुढी मान्छे पनि आएको छु ।’

सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढंगले उत्पादन गर्न थालिएको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।

धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमा समेत प्रयोगमा आउन थालेको छ । उद्योगमा आबद्ध सदस्य दिलमाया काउचाले नयाँ कामको सुरुवात भएको हुँदा सिक्दै स्वरोजगार बन्दै गरेको बताइन् । उद्योग सञ्चालनमा नआउँदा यतिकै घरमा बस्ने गरेको भन्दै अहिले दैनिक उद्योगमा आएर काम गर्ने गरेको उनको भनाइ छ ।

‘सुरुवाती चरणमा छौँ, अहिलेसम्म त धेरैले राम्रो भन्नुभएको छ, वन जंगलमा पुगेर पातहरु ल्याउँछौँ, बर्खाका लागि पनि अहिले नै पात ल्याएर गोदाममा राखेका छौँ, पानी पर्‍यो भने पात पाइँदैन पाइए पनि कुहिन्छ’, काउचाले भनिन्, ‘उद्योगमा लागेपछि आयस्रोत पनि हुने भयो, पहिले टपरी बुन्नका लागि सिकेका थियौँ, अहिले आफैं गर्न सक्ने भयौँ ।’

महिलाहरुले करिब ३ लाख रुपैयाँको लागतमा दुना टपरी बनाउने मेसिनसमेत ल्याएका छन् । बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग निकै बढेको उद्यमशील महिला मगर संघकी अध्यक्ष बलकुमारी पुनले बताइन् ।

दुना टपरीलाई ३ देखि ८ रुपैयाँसम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ । विसं २०७५ मै महिलाहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्दै आएकामा फागुनदेखि व्यावसायिक रुपमा दुना टपरी उत्पादनमा लागेको अध्यक्ष पुनले जानकारी दिइन् ।

खासगरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ र सार्वजनिक कार्यक्रम हुने ठाउँबाट दुना टपरीको माग आउने गरेको पुनको भनाइ छ । उद्योग सञ्चालनमा आएको २ महिनामै धेरै ठाउँबाट मागसँगै हौसल थपिँदै गएपछि काम गर्न ऊर्जा थपिएको अध्यक्ष पुनले बताए ।

उद्योगमा काम गर्ने महिलाहरुले मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्नसक्ने उहाँ बताउनुहुन्छ । हाल बजारीकरणमा कुनै समस्या नभएको भन्दै आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके स्थानीय उत्पादनले बजार पाउनसक्ने पुनको भनाइ छ ।

‘उद्यमशील महिला मगर संघले पाँच वर्ष अगाडि बङ्गुरपालन गरेका थियौँ, तर रोगले गर्दा सबै मरे, त्यस बेला हामीहरुले १६ लाख रुपैयाँभन्दा बढी क्षति व्यहोर्नु पर्‍यो’, उनले भनिन्, ‘त्यसपछि अहिले दुना टपरी उद्योग सञ्चालन गरेका छौँ, राम्रो हुँदै गएको छ, बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ ।’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment