अब नेपालमै क्यान्सरको सबै भन्दा सस्तो र राम्रो उपचार हुने प्रधानमन्त्री ओलीको दाबी

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब क्यान्सरको सबै भन्दा राम्रो उपचार र सस्तो उपचार नेपालमै हुने बताउनुभएको छ ।

मंगलबार (आज) झापाको विर्तामोड नगरपालिका–५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘क्यान्सरको सबै भन्दा राम्रो उपचार नेपाल पाइन्छ । क्यान्सरको सबै भन्दा सस्तो उपचार नेपालमा पाइन्छ । हामीले अस्पतालहरु चाहेका छौं । हामीलाई मेडिकल कलेजहरु चाहिएको छ । हामीलाई टेक्निकल विद्यालयहरु चाहिएको छ ।’

उहाँले थप भन्नुभयो, ‘हामी नेपाललाई निरोगी बनाउन चाहन्छौं । निरोगी नेपाली बनाउन चाहन्छौं । सोही अनुरुप हामीले ३ सय ९ वटा अस्पतालहरु एकै दिन शिलन्यास ग¥यौं । एक हप्ताभित्र सात वटै प्रदेशमा ठूला–ठूला औद्यौगिक क्षेत्रहरुको शिलन्यास ग¥यौं ।’

‘‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा साकार गर्नका लागि हामीले विभिन्न प्रयासहरु गरिरहेका छौं । आलोचना गर्दै गर्छन्, टिप्पणी गर्दै गर्छन्, त्यसबाट बिचलित हुनुहुदैन । सही बाटो भएर देश बिकासमा लाग्नुपर्छ ।’

यसअघि उहाँले नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पताल, अस्पताल मात्रई नभई शिक्षण अस्पताल बन्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अस्पताल अस्पताल मात्रै नभई शिक्षण अस्पताल बन्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिर्टीले दिन्छ ।’

यसैबीच उहाँले आफूहरुको अभियान रोजगारीको सिर्जना गर्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘विदेशिने युवाहरुको पंक्ति बढ्दो छ । अब गाउँमै बस्ने स्थितिहरु बनाउँछौं । एउटा मात्रै क्षेत्रमा पाँच वटा पूल शिलन्यास गरेर उद्घाटन पनि गरिसकेको छु ।’

उहाँले फेरि भन्नुभयो, ‘उर्लाबारीमा हामी एकीकृत सन्थाल बस्तीको शिलन्यास गर्दैछौं । केही महिनामै निर्माण गरेर उद्घाटन पनि गर्दैछौं ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment