सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गरेको छ : मन्त्री त्रिपाठी

१६ फाल्गुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेस त्रिपाठीले आगामी फाल्गुण २३ गतेदेखि सुरु हुने कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियानलाई प्रभावकारी बनाउन तीनै तहको सरकारले संयुक्त प्रयास अघि बढाएको बताउनु भएको छ ।

मन्त्रालयले आज काठमाडौँमा गरेको प्रधान सम्पादकहरुसँंगको अन्तर्क्रियामा मन्त्री त्रिपाठीले ५५ वर्षदेखि माथि उमेर समूहका व्यक्तिहरू संवेदनशील र बढी जोखिमको क्षेत्र पनि भएकाले सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।

उहाँले हालसम्म ४ लाख २९ हजारभन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाएका मध्ये कसैलाई पनि जटिल समस्या नदेखिएको र नेपालले प्रयोग गरेको खोप विश्वका ५७ देशले प्रयोग गरिरहेकाले कोभिशिल्ड खोपको सुरक्षालाई लिएर सरकार पूर्णतः विश्वस्त रहेको बताउनुभयो ।

विश्वका एक सयभन्दा बढी देशले अझै खोप कार्यक्रम सुरु गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारले खोपको आवश्यक बन्दोबस्त गरी अभियान सञ्चालनमा ल्याएको र क्रमशः सबैलाई खोप कार्यक्रममा समावेश गरिने भएकाले ढुक्क भएर यो अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

मन्त्री त्रिपाठीले आफ्नो उमेर पनि ५५ वर्षमाथिको भएकाले नियम मिचेर पहिलो चरणमा खोप नलगाएको बताउनुहुँदै अबको कार्यक्रममा आफूले पनि खोप लगाउने जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले खोप खरिददेखि लगाउनेसम्मका सबै प्रक्रिया पारदर्शी, न्यायसङ्गत र कानुनबमोजिम हुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले अब निरन्तर रुपमा खोप अभियान अघि बढाउने सरकारको योजना रहेको बताउनुहुँदै प्राथमिकता प्राप्त समुदायलाई सरकारका तर्फबाट निःशुल्क खोप लगाइसकेपछि निजी क्षेत्रलाई खोप आयात र खोप कार्यक्रम सञ्चालन गर्न दिइने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले २० लाख मात्रा खोप खरिद गरिएको मध्ये १० लाख मात्रा आइसकेको, १० लाख मात्रा आउने क्रममा रहेको र थप ५० लाख मात्रा खरिदको तयारी करिब अन्तिममा पुगेको जानकारी दिनुभयो ।

उहाँले फाल्गुण २३ देखि सुरु हुने अभियान देशका ६ हजार खोप केन्द्रमा सञ्चालन हुने, उमेरका कारणले खोप केन्द्र जान नसक्नेहरूका लागि विशेष व्यवस्था गरिने र त्यसका लागि खोप, जनशक्तिलगायतका सबै बन्दोबस्त भइसकेको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment