बजेट नै खर्च गर्न नसकेको सडक विभागले माग्यो थप ३० अर्ब

१२ फागुन, काठमाडौं । चालू आर्थिक वर्षका लागि विनियोजना गरिएको बजेट नै खर्च गर्न नसकेको सडक विभागले थप ३० अर्ब बजेट माग गरेको छ ।

हालसम्म चालू आवका लागि छुट्याइएको करिब २९ प्रतिशत मात्रै बजेट खर्च गरेको विभागले बजेट अभाव हुने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग थप ३० अर्ब १३ करोड ६४ लाख रुपयाँ बजेट माग गरेको हो ।

सरकारले चालू आर्थिक वर्षमा सडक विभागका लागि १०४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । हालसम्म सो बजेट मध्ये करिब २९ प्रतिशत मात्र बजेट खर्च भएको सडक विभागका सूचना अधिकारी रमेशकुमार सिंहले जानकारी दिए ।

हालसम्म सडक विभागले ३० अर्ब रुपयाँ हाराहारीमा बजेट खर्च गरेको छ । चालू आर्थिक वर्ष सकिन अझै ४ महिना बाँकी हुँदा ३० प्रतिशत बजेट खर्च गरेको सडक विभागले थप ३० अर्ब बजेट अपुग भएको भन्दै माग गरेको हो । ‘हुलाकी राजमार्ग निर्माणमा १ अर्ब बजेटको बिल भुक्तानी गर्न बाँकी छ, मध्य पहाडीको दैलेखमा ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ, भुक्तानी अब केही महिनामा भुक्तानी भयो भने १०० प्रतिशत बजेट सकिने छ,’ सिंहले चाणक्य पोष्टसँग भने ।

कहाँ -कहाँ खर्च गर्न माग्यो विभागले थप बजेट ?

विभागले हाल सञ्चालित १० सडक आयोजनाका लागि बजेट नपुग्ने भन्दै थप बजेट माग गरेको छ । राष्टिय गौरवका सहित रणनीतिक महत्वका सडक र पुल निर्माणका लागि बजेट अभाव हुने भन्दै विभागले थप रकम मागेको हो ।

विभागका अनुसार हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ५६ करोड रुपैयाँ बजेट थप माग गरिएको छ । यसैगरी, पुष्पलाल लोकमार्ग लागि ४ अर्ब रुपैयाँ मदन भण्डारी राजमार्गका लागि २ अर्ब ४४ करोड रुपैयाँ बजेट माग गरिएको छ ।

विभागले रणनीतिक पुल निर्माण अन्तर्गत १ अर्ब ३१ करोड रुपैयाँ, स्थानीय पुल निर्माणका लागि ५ अर्ब ६४ करोड रुपैयाँ र एडीबीद्धारा सञ्चालित आयोजनाका लागि ४२ करोड रुपैयाँ बजेट थप माग गरेको छ ।

यसैगरी, तमोर करिडोर निर्माणका लागि ७० करोड रुपैयाँ, व्यापारिक राजमार्ग निर्माणका लागि ३ अर्ब ९८ करोड रुपैयाँ, तराई मधेश पूर्वाधारका लागि ३ अर्ब ९८ करोड रुपैयाँ र सडक पूर्वाधार कार्यक्रम अन्तर्गत ४ अर्ब ३७ करोड रुपयाँ बजेट माग गरिएको विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment