युनिसेफले बचन दियो, कोल्ड रुम दिएन

१२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय सहयोग संस्था युनिसेफले नेपाललाई कोल्ड रुम दिने बचन गरेपनि अहिलेसम्म दिन सकेको छैन ।

कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप भण्डारणका लागि आवश्यक पर्ने कोल्ड रुम सहयोग गर्ने बताएको थियो । तर, कोरोना खोप सुरु भएको एक महिना पुग्दा समेत युनिसेफले प्रतिवद्धताअनुसार उपकरण दिन सकेको छैन । खोप भण्डारण गर्ने कोल्ड रुम कम भएकाले हाल सरकारले १० लाख डोजभन्दा बढी खोप आयात गर्न सकेको छैन ।

क्षमता ठुलो भएको बताएपनि बढीमा दश लाख मात्रै राख्न सकिएको अधिकारीहरु बताउँछन् । भण्डारण क्षमता कम भएकाले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये पहिलो चरणमा १० लाख मात्रै ल्याइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार नियमित खोप भण्डारण गर्ने केही कोल्ड रुम खाली गरेर भ्याक्सिन भण्डारण गरिएको छ ।

बिभागका अनुसार युनिसेफले दिने भनेको १८ वटा कोल्ड रुम अझै केही महिना आउँदैनन् । कोभ्याक्स सुविधा (गाभी)ले २० प्रतिशत नागरिकलाई गुग्ने भ्याक्सिन ल्याउने, युनिसेफले भण्डारण गर्ने उपकरण ल्याउने, विश्व स्वास्थ्य संगठनले त्यसका लागि प्राविधिक सहयोग गर्ने बचन दिएको थियो । उनीहरुले निःशुल्क सहयोग गर्ने भनेपनि आवश्यक पर्ने बजेटको प्रबन्ध गरिएको छ ।

अधिकारीहरुका अनुसार १८ वटा कोल्ड रुमका लागि ७ लाख डलर खर्च हुने उल्लेख छ । ८ करोड ११ लाख २९ हजार ३ सय ७० नेपाली रुपैयाँ लाग्ने छ । यसरी उपकरण र भ्याक्सिनमा लागेको खर्च सहयोग गर्ने रकमबाट कटाउने छन् । युनिसेफले समयमा कोल्ड रुम दिए सरकारले काम नलाग्ने कोल्ड रुम हटाएर नयाँ राख्ने लक्ष्य लिएको थियो ।

कर्णाली र जनकपुरमा नयाँ कोल्ड रुम थप गर्ने सरकारको तयारी छ । त्यस्तै, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कोल्ड रुम पनि मर्मत भएको छ । वर्षौ अगाडि तरकारीको व्यवस्थापन गर्न उक्त कोल्ड रुम तयार पारिएको थियो । त्यसै थन्किएर बसेको कोल्ड रुम कोभिडमा स्वास्थ्य मन्त्रालयले प्रयोगमा ल्याएको छ । पथलैया, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेतमा रहेका कोल्ड रुमहरु पनि मर्मत गरेर संचालनमा ल्याइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment