सचिन तेन्दुलकरका छोरा अर्जुनले आइपिएल खेल्ने

०७ फागुन, एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटमा सर्वोत्कृष्ट ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेल्ने भएका छन् ।

अर्जुनलाई बिहिबार चेन्नईमा सम्पन्न अक्सनमा मुम्बई इन्डियन्सले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । उनी पहिलो पटक अक्सनमा बिक्री भएका हुन् । मुम्बई सचिनको पूर्व टोली हो । अर्जुनलाई मुम्बईले अक्सनको अन्तिम समयमा खरिद गरेको थियो । २०२१ को अक्सनमा खरिद हुने उनी अन्तिम खेलाडी थिए ।

मुम्बईले बिहिबार सम्पन्न अक्समा अर्जुनसँगै नाथन कुल्टर नाइल, एडम मिल्नेलाई तीव्र गतिका बलरको रुपमा खरिद गर्यो । नाथनलाई ५ करोड र मिल्नेलाई ३ करोड २० लाखमा खरिद गर्यो । स्पिनर पियुष चवलालाई मुम्बईले २ करोड ४० लाख भारु खर्चेर अनुबन्ध गरेको छ । मुम्बई तीव्र गतिका बलरको टोलीमा रुपमा चिनिन्छ । अक्सनअघि टोलीमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट जस्ता विश्वस्तरिय तीव्र गतिका बलर छन् ।

२१ वर्षिय बायाँ हाते तीव्र गतिका बलर अर्जुनले भारतको उमेर समूह र घरेलु क्रिकेट खेलि सकेका छन् । अर्जुनले गत जनवरीमा मुम्बईबाट हरियाणविरुद्ध भारतको चर्चित टि२० प्रतियोगिता शैद मुश्ताक अली ट्रफिमा डेब्यू गरेका थिए । उक्त खेलमा उनले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिएका थिए ।

अर्जुनले मुम्बई क्रिकेट एसोसिएसनले आयोजना गरेको पुलिस आमान्त्रिण शिल्ड क्रिकेट प्रतियोगिता २०२०/२१ मा आइतबार एमआइजी क्रिकेट क्लबबाट उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । बलरका रुपमा टोलीमा रहेका उनी ईस्लाम जिमखानाविरुद्ध २६ बलमा ५ चौका र ८ छक्का सहित ७७ रनमा अविजित रहे ।

बायाँ हाते तीव्र गतिका बलर अर्जुनले स्पिनर हशीर दफेदारलाई एकै ओभरमा पाँच छक्का प्रहार गरेपछि उनको चर्चा झन् बढेको थियो । अर्जुनले उक्त प्रतियोगितामा तीन विकेट लिएका थिए । यस प्रतियोगितामा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment