तरकारी खेतीबाट आत्मनिर्भर बन्दै किसान, वार्षिक १५ लाख आम्दानी

०७ फागुन, नेपालगञ्ज । सामुहिक तरकारी खेती गरेर कोहलपुर नगरपालिका–१३ भरैयाका अधिकांश किसान आत्मनिर्भर बन्न थालेका छन् । कृषिलाई नै मुख्य पेशा बनाएका भरैयाका स्थानीय किसानले तरकारी खेती गरेर मौसममा न्यूनतम एक लाखदेखि पाँच लाख रुपियाँसम्म आम्दानी गर्दै आएको जनाएका छन् ।

परम्परागतरुपमा धानखेती गर्दै आएका उनीहरुले तरकारीमा आम्दानी बढी हुने देखिएपछि तरकारी खेतीमा जुटेका हुन् । धान खेतीमा मिहिनेत धेरै, उपलब्धि कम हुने भएकाले तरकारी खेती शुरु गरेको स्थानीय नरबहादुर बुढामगरले बताउनुभयो ।

तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरुको दिन बित्ने गरेको बुढामगरको भनाइ छ । पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको बताउँदै मगर भन्नुहुन्छ, ‘ग्राहक घरमै आएर तरकारी किनेर लैजान्छन् ।’

यसअघि धान र गहुँखेती गर्दै आउनु भएका मगरले त्यसबाट लाउन खान पनि नपुगेपछि विसं २०५१ देखि तरकारी खेती शुरु गरेको बताउनुभयो । उहाँले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको गुनासो पनि गर्नुभयो ।

प्रदेश र स्थानीय सरकारले कृषिमा थुप्रै बजेट छुट्याएको खबर सुनेपनि हालसम्म अनुदान नपाएको उहाँले बताउनुभयो । वार्षिक दुईदेखि पाँच लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएका मगरले सोही रकमबाट घर परिवारको खर्च धानिरहनुभएको छ ।

भरैयाकै अर्का किसान शेरबहादुर वलीले पनि एक दशकदेखि तरकारी खेती गर्दै आएको बताउनुभएको छ । विभिन्न निकायबाट कृषिसम्बन्धी तालिम लिनुभएका वली विदेश गएर हन्टर खानु भन्दा नेपालमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुहुन्छ ।

‘हामी चार भाइ मिलेर ३५ कट्ठामा तरकारी खेती शुरु गरेका छौँ,’ वलीले भन्नुभयो, ‘वार्षिक दुई लाख लगानी गरेर उब्जिएको तरकारीबाट १५ लाख बराबर आम्दानी हुने गरेको छ ।’ उहाँले कृषि पेशाबाटै २२ जनाको परिवारको खर्च चलाइरहेको पनि बताउनुभयो ।

समयमै बीउ र मल उपलब्ध नहुँदा सोचे जति उत्पादन गर्न नसकिएको वली बताउनुहुन्छ । उहाँले सरकारले कृषकको आवश्यकता पहिचान गरेर कृषि सामग्री वितरण नगरेको गुनासो पनि गर्नुभयो ।
सामूहिक तरकारी खेती गर्दै आएका त्यहाँका किसानले सागर कृषि सहकारीसमेत खोलेका छन् । सोही सहकारी मार्फत किसानले अटोरिक्सा समेत खरिद गरेका छन् । गाँउमा उत्पादन हुने तरकारी अटोरिक्सा मार्फत बजारसम्म पुग्ने भएकाले कृषकलाई बजारीकरणको समस्या नरहेको उनिहरु बताउँछन् ।

भारतबाट आउने विषादीयुक्त तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । भारतबाट सस्तो मूल्यको तरकारी आउँदा गाउँमा उत्पादित अग्र्यानिक तरकारीले प्रतिस्पर्धा गर्न समस्या पर्ने गरेको उनीहरुले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment