विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने

२५ चैत, काठमाडाैं । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो ।

अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए ।

सर्वाेच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वाेच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ ।

नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको समेत दाबी गरे । ‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो। आफू–आफूबीच इगो पालेर केही हुँदैन। एनआरएनएको औचित्य शून्य भइसक्यो । यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने ।

पूर्व अध्यक्षहरूको जुँगाको लडाईँले एनआरएनए अभियान सखाप भएको उनको आरोप छ। ‘मिल्ने बेला नमिल्ने। आफू–आफूहरूबीच इगो लिने ! अहिले कसरी मिल्छ त ? मिलेर ६ महिनाभित्र संस्था एक हुन्छ भन्नु असम्भव छ। कोही पनि भ्रममा नपरे हुन्छ,’ उनले भने ।

जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीहरूको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवस्यक रहेको बताए । ‘यो संस्था राजनीति गर्ने थलो हुँदैन। व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ। युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने तार्गेट हो,’ उनले भने ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment