चौथो मञ्जुश्री ट्रेल रेसः आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता

२४ चैत, काठमाडौं । खेल पर्यटनलाई प्रवद्र्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ ।
प्रतियोगिताका विभिन्न चरणका दौडसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् । उनले एक सय माइलको दूरी २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिनुभयो । यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका छन् ।

यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै विजय मगर तेस्रो भए । एक सय किलोमिटरको दौड १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोका मगर विजेता बनेका छन् । यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरी फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी अविनाश देवकोटा तेस्रो भए ।


साथै ५० किलोमिटर दौड प्रतियोगिता अन्तर्गत सात घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ आठ घण्टा २२ मिनेट पाँच सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने । यस दलौमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमशः सात घण्टा १८ मिनेट ११ सेकेन्डमा र नौ घण्टा १३ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भएका छन् । यस्तै पुरुषतर्फ दीपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः आठ घण्टा चार मिनेट ३६ सेकेन्डमा र नौ घण्टा १६ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।


यस संस्करणमा एक सय माइल, एक सय किमि र ५० किमि प्रतियोगिताक शीर्ष पाँच खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा छनोट भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल दौडमा प्रतिष्पर्धा गर्नेछन् ।


त्यस्तै ३० किलोमिटर दौड चार घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने भने चार घण्टा ५७ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्ने लुकास सेर्डन दोस्रो र चार घण्टा ५७ मिनेट ४५ सेकेन्डमा दौड सम्पन्न गर्ने एण्ड्रियु एलकक तेस्रो भए । यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले छ घन्टा ४५ मिनेट २१ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फको ३० किलोमिटर दौड प्रतियोगितामा विजेता बनिन् ।

बेलायतकी जेन्नी चाप्लिनले सात घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी दौड पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले सात घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।


दश किलोमिटर दौड एक घण्टा दुई मिनेट पाँच सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए भने एक घण्टा दुई मिनेट छ सेकेन्डमा दौड पूरा गरेर रेम बुढामगर दोस्रो र एक घण्टा दुई मिनेट आठ सेकेन्डमा दौड पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् ।
अध्यक्ष थापाका अनुसार प्रतियोगितालाई समावेशी बनाउन आज दुई किलोमिटरको विशेष दौड समेत सम्पन्न गरिएको छ । जसमा अपाङ्गता भएका बालबालिकाहरु सहभागी थिए । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो दौड प्रतियोगितमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।
शुक्रबार बिहान ८ बजे इचङ्गुनारायणस्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट एक सय माइलको दौड सुरू भएको थियो । धावकहरुले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल नौ हजार आठ सय मिटरको उचाइ लिएका थिए ।
अध्यक्ष थापाका अनुसार दौडअन्तर्गत छोटो दूरीका दौड पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको दौड झुलेबाट, ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज दौड फर्पिङको डोल्लुबाट सुरू भएको थियो ।


ट्रेलमाण्डुको यो प्रतियोगितामा पाँच स्टेज दौडको फाइनल दौड हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको दौड सुरू भइ सिङ्गल ट्रीमै सकिएको यस दौडमा एक सय धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए । शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको दौडमा नेपालसहित १६ मुलुकका तीन सय २४ धावकहरू सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ । सहभागी धावकमध्ये यस्तै दुई सय ८९ जना पुरुष र ३५ जना महिला रहेका थिए । विभिन्न चरणमध्ये सय माइलको दौडमा चार महिला सहित १८ धावक सहभागी थिए ।
यस संस्करणमा नेपाल, चीन, सिङ्गापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।


एक सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने दौडभन्दा मञ्जुश्री ट्रेल दौडको महत्व बढ्दै गएको बताउँछन् । त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि दौडमा सहभागी भएको उनले सुनाए । उनले सन् २०२२ को आफ्नै रेकर्ड तोड्दा एकदमै खुशी भएको समेत सुनाए । विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् २०१६ मा यो रूट छिचोले । जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए ।


फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापाको भनाइ छ ।


आयोजकका अनुसार एक सय माइलको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । एक सय किलोमिटर दौडका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


पचास किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु २० हजार, रु १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment