इलेक्ट्रिक कारमा टेस्लालाई टक्कर दिंदै चिनियाँ कम्पनी शाओमी

२२ चैत, बीबीसी । स्मार्टफोन निर्माता चिनियाँ कम्पनी शाओमीले आफ्नो पहिलो विद्युतीय कार लञ्च गरेको छ र त्यसको अर्डर लिन पनि सुरु गरिसकेको छ ।

एक कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत ली जुनका अनुसार कम्पनीको स्टाण्डर्ड एसयू७ मोडेलको कारको मूल्य दुई लाख १५ हजार ९०० युआन अर्थात् २९ हजार ८७२ डलर रहेको छ । त्यस्तै म्याक्स भर्सनको मूल्यचाहिं २ लाख ९९ हजार ९०० युआन पर्नेछ ।

कम्पनीका अनुसार उसले आफ्नो पहिलो इलेक्ट्रिक कार लञ्च गरेको २७ मिनेट भित्रैमा ५० हजार वटा कारको अर्डर प्राप्त भैसकेको थियो ।

शाओमी विद्युतीय कारको बजारमा यस्तो बेला प्रवेश गरेको छ जतिबेला विश्वस्तरमै कारको बिक्री घटेको छ र कारको मूल्यमा नयाँ प्रतिस्पर्धा सुरु भएको छ ।

योसँगै शाओमीले विद्युतीय कारको बजारमा टेस्ला तथा बिवाइडीजस्ता ठूला खेलाडीहरुसँग प्रतिस्पर्धा गर्ने प्रयास गरेको छ । चीनमा टेस्लाको मोडेल ३ कारको सुरुवाती मूल्य २ लाख ४५ हजार ९०० युआन रहेको छ ।

शाओमीको एसयू७ को तुलना पोर्शेको टेकेन तथा पानामेरासँग गरिएको छ ।

एसयू सेभेनका विशेषता

ली जुनका अनुसार एसयू ७ एकपटक चार्ज गरिसकेपछि करिब ७ सय किलोमिटरसम्म चल्दछ । यो टेस्लाको मोडेल थ्री कारभन्दा राम्रो माइलेज हो जुन एकपटक चार्ज गरेपछि ५६७ किलोमिटर सम्म चल्दछ ।

कम्पनीका अनुसार एसयू ७ मा त्यहीँ अपरेटिंग सिस्टम प्रयोग गरिएको छ जसको प्रयोग शाओमीका फोन, ल्यापटप तथा अन्य डिभाइसमा गरिन्छ । त्यसैले शाओमी उपभोक्ताले कारको यस्तो इकोसिस्टम मन पराउने अपेक्षा गरिएको छ।

अनुसन्धान कम्पनी काउन्टरप्वाइन्टका अनुसार शाओमी विश्वको स्मार्टफोन बजारमा तेस्रो ठूलो कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा यसको हिस्सा १२ प्रतिशत छ।

प्छिल्लो एक वर्षदेखि कम्पनीले एसयू ७ लञ्च गर्ने संकेत गरिरहेको थियो र उसको कार पोर्शेको टेकेन तथा पानामेरा स्पोर्टस् कारको मोडेलजस्तै हुने अनुमान गरिएको थियो ।

चुनौती र बढ्दो प्रतिस्पर्धा

शाओमीले यो नयाँ कारको उत्पादन चीन सरकारको स्वामित्वमा रहेको बिएआइसी ग्रुपको एक फ्याक्ट्रीमा हुनेछ । सो कारखाना बेइजिंगमा छ र कम्पनीले वर्षभरमा कम्तिमा दुई लाख कार उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अटोमोबाइल क्षेत्रका विज्ञ बिल रुसो भन्छन्- अबसम्म कम्पनी जुनस्तरसम्म पुगेको छ, त्यो नै आफैंमा ठूलो सफलता हो । तर, सबैभन्दा ठूलो सफलता तब ठानिनेछ जब शाओमीले विद्युतीय कारको बजारमा उपभोक्ताहरुको बीचमा आफ्नो स्थान बनाउनेछ।

यद्यपि प्रविधि कम्पनीहरुको अगाडि यो क्षेत्रमा चुनौतीहरु बग्रेल्ती छन् । आइफोन निर्माता कम्पनी एप्पलले विद्युतीय कार बनाउने आफ्नो योजना गत महिना रद्द गरेको घटनाले पनि यसलाई पुष्टि गर्दछ।

बिल रुसका अनुसार कार बजारमा प्रवेश गर्ने शाओमीको कदमले के देखाएको छ भने कम्पनीलाई चीनमा आफ्नो ब्राण्डप्रति पूरा भरोसा छ । जबकि एप्पलले भने चीन बाहिर विद्युतीय कारको बजारमा खासै धेरै सम्भावना देखेन ।

आगामी १० वर्षमा विद्युतीय कारको व्यवसायमा १० अर्ब डलर लगानी गर्ने शाओमीले बताइसकेको छ।

अटोमोबाइल विज्ञका अनुसार चीनमा विद्युतीय कारको बजार परिपक्व छ र सोही कारणले त्यहाँ एउटा स्थिर इकोसिस्टम बनेको छ । यसले कार निर्माता कम्पनीहरुलाई निकै मद्दत मिलेको छ ।

उदाहरणका लागि चीनमा ब्याट्री आपूर्तिको श्रृंखला निकै मबजूत छ र इलेक्ट्रिक कारको बढ्दो मागलाई हेर्दा ठूलो स्तरमा चार्जिङ् नेटवर्क बनाइएको छ।

शाओमीको पहिलो कार यस्तो बेलामा लञ्च भएको छ जतिबेला चीनमा यो क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको छ।

हलै टेस्लाका मालिक एलन मस्कले चीनमा आफ्ना कारको मूल्य उल्लेख्य मात्रामा घटाएका छन् । विश्वस्तरमा सबैभन्दा धेरै कार बिक्री गर्न सफल कम्पनी बिवाइडीले कारको मूल्य घटाएपछि टेस्लाले यस्तो कदम चालेको हो ।

विद्युतीय कारको मामिलामा चीन विश्वको सबैभन्दा ठूलो बजार हो । यस्तोमा नयाँ नयाँ खेलाडीहरुको बाढी रोक्ने प्रयासका बीच शाओमी ती सीमित कम्पनीहरुमा एक हो जसलाई अधिकारीहरुको तर्फबाट हरियो झण्डा देखाइएको छ।

यसैबीच हालै बिवाइडीले आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गर्‍यो र त्यस अनुसार उनको वार्षिक मुनाफामा नयाँ रेकर्ड कायम भएको छ । यद्यपि वर्षको अन्त्यमा भने उसको गति केही सुस्त देखिएको थियो ।

त्यस्तै शांघाइस्थित कार कम्पनीले नियोले अर्थव्यवस्थाको विकासको दरमा आएको गिरावटसँगै उपभोक्ताहरुले आफ्नो खर्च पनि घटाएका र त्यसको असर पहिलो त्रैमासिकको बिक्रीमा पर्ने बताएको छ ।

यसै हप्ता अमेरिकी कम्पनी टेस्लाले पनि जनवरी देखि मार्च सम्मको त्रैमासिकको कार बिक्रीको आँकडा सार्वजनिक गर्दैछ ।

तर, वास्तविकता के पनि छ भने विश्वका सरकारहरुले विदेशी विद्युतीय कारहरुको आयात कम गर्न चाहन्छन् ।

मंगलबार मात्रै चीनले अमेरिकाको इन्फ्लेक्सन रिडक्सन कानून अन्तरगत भेदभावपूर्ण सहुलियतको विरुद्धमा अमेरिकाको विरुद्धमा विश्व व्यापार संगठनको ढोका ढक्ढकाएको छ ।

उता युरोपेली संघले पनि विद्युतीय कारका लागि चीन सरकारले दिने सहुलियतले देशमा युरोपेली कम्पनीहरुले उत्पादन गरेका कारहरुको बिक्री घटाउन सहयोग गरिरहेको विषयमा अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment