पेरिस ओलम्पिकमा सुरक्षा चुनौतीः फ्रान्सले माग्यो विदेशी सुरक्षाकर्मीको सहयोग

१८ चैत, पेरिस । फ्रान्सले पेरिस ओलम्पिकको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विदेशी सुरक्षाकर्मीको सहयोग माग गरेको छ ।

पेरिस ओलम्पिक २०२४ का लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको जनाउँदै आयोजक फ्रान्सले विदेशी प्रहरी र सेनाको सहयोग माग गरेको हो ।

फ्रान्सले राजधानी पेरिसमा हुने पहिलो चरणका खेलहरूका लागि सुरक्षा योजनालाई अन्तिम रूप दिँदैछ ।

यसै सिलसिलामा फ्रान्सले गृष्मकालीन पेरिस ओलम्पिकको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी अधिकारीलाई पठाउन सक्ने हो कि होइन भनी ४६ मुलुकलाई सोधेको बताएको छ । प्रतियोगिता जुलाई २६ देखि अगस्ट १५ सम्म हुँदैछ ।

गृह मन्त्रालयले विदेशी सुरक्षा सहायताका लागि जनवरीमा अनुरोध गरिएको बताएको छ । यसमा करिब दुई हजार एक सय ८५ सुदृढीकरणको माग गरिएको थियो । मन्त्रालयका अनुसार अधिकारीहरूसँग खेलहरूको सुरक्षा, ‘दर्शकहरूको अनुभव’ र ‘अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन’ सहयोग मागिएको हो ।

‘यो प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रमहरूका लागि आयोजक देशहरूको क्लासिक दृष्टिकोण हो,’ मन्त्रालयले भनेको छ । फ्रान्सले सन् २०२२ मा कतारमा विश्वकप फूटबल प्रतियोगितामा आफ्ना दुई सय जवानलाई पठाएको र गत वर्ष फ्रान्सले आयोजना गरेको रग्बी विश्वकपका लागि अन्य युरोपेली सुरक्षा बलका एक सय ६० अधिकारीलाई स्वागत गरिएको मन्त्रालयले बताएको छ ।

सेनाका जनरल स्टाफका प्रवक्ता कर्णेल पियरे गौडिलियेरले भने, ‘फ्रान्सेली रक्षा मन्त्रालयले खोजी कुकुरहरूको टिमसहित खेलहरूमा ‘अत्यन्त विशिष्ट’ कार्यमा सहयोग पुग्न सकोस् भनेर विदेशी मुलुकहरूबाट ‘सानो सङ्ख्या’ मा सैन्यकर्मीहरूको माग गरेको छ ।’

पोल्यान्डका रक्षामन्त्रीले आफ्नो मुलुकले पेरिस खेलकुदमा सैनिक पठाउने बताए । पोलिस सशस्त्र बलको प्रतिनिधिमण्डलमा कुकुर ह्यान्डलरलाई पनि समावेश गरिने भन्दै मन्त्री भ्लाडिस्लाभ कोसिनिक–कामिजले सामाजिक सञ्जाल एक्समा भने, ‘यसको मुख्य लक्ष्य भनेको विस्फोटकहरू पत्ता लगाउने र आतङ्कवादी घटनाहरूको प्रतिरोध गर्न सम्बन्धित गतिविधिहरू सञ्चालन गर्नु हो ।’

इस्लामिक चरमपन्थीहरूद्वारा बारम्बार घातक हमलाबाट प्रभावित र एक करोड ५० लाख आगन्तुकहरू आउने अपेक्षा गरिएको शहर पेरिसमा ओलम्पिक खेल आयोजकहरूका लागि सुरक्षा सबैभन्दा ठूलो चुनौती हो । उद्घाटन समारोहका लागि सुरक्षासम्बन्धी चिन्ता विशेषरूपमा धेरै छ । उद्घाटन समारोहमा सिन नदीको किनारमा डुङ्गाहरू र तटबन्धनबाट हेर्नेको ठूलो भीड हुनेछ ।

हालै रुसको एक कन्सर्ट हलमा भएको घातक हमला र हमलाको इस्लामिक स्टेटले जिम्मेबारी लिएपछि फ्रान्स सरकारले आफ्नो सुरक्षा सतर्कतालाई उच्चतम स्तरमा बढाएको छ ।

फ्रान्सेली प्रधानमन्त्री ग्याब्रियल अटालले सामाजिक सञ्जाल एक्समा निर्णयको घोषणा गर्दै भने, ‘मस्को हमलाका लागि इस्लामिक स्टेटको जिम्मेवारी र दाबी तथा हाम्रो मुलुकमा मडारिरहेको खतरालाई अधिकारीहरूले ध्यानमा राखिरहेका छन् ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment