७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउँदै सरकार

७ चैत, काठमाडौं । नेपाल सरकारले ८ चैतमा ७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउने भएको छ ।

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत आन्तरिक ऋण उठाउने भएको हो ।

विकास ऋणपत्र २०८६ ‘ड’ नाम दिएको उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ । चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो ।

सोही अनुसार बिहीबार राष्ट्र बैंबकले विकास ऋणपत्र बोलकबोल गर्ने भएको हो ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ६ अर्ब ५३ करोड ६५ लाख र १ अर्ब १५ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुनेछ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेस गर्नुपर्नेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment