रोकिएन अदक्ष कामदार बाहिरिने क्रम, एक महिनामा सीप नै नसिकी ११ हजार कामदार पलाएन

०६ फागुन, काठमाडाैं । वैदेशिक रोजगारीमा जाने कामदारमा आफूले काम गर्ने क्षेत्रको बारेमा व्यावसायिक सीप तथा तालिम लिने प्रवृत्तिको विकास नहुँदा ११ हजार अदक्ष कामदार बाहिरिएका छन् ।

बैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्र ११ हजार ९७८ जना अदक्ष कामदार बाहिरिएका हुन् । जसमा १० हजार २८२ जना पुरुष रहेका छन् भने १ हजार ६९६ जना महिला रहेका छन् । माघमा ६२ हजार १४० जनाले श्रम स्वीकृती लिएका मध्ये ११ हजार ९७८ जना कामदार अदक्ष हुन् ।

विषेशगरी मलेसिया, कतार, साउदी अरबलगायतका खाडी मुलुकहरुमा अदक्ष कामदार जाने गरेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये घरेलु कामदार, कृषि मजदुर, क्लिनर, सेक्युरिटी गार्ड, होटेल मजदुर लगायत काम गर्ने कामदार काम नै नसिकी बाहिरिने गरेका छन् ।

वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम २०७६ असारबाट लागू गर्ने भनेपनि लागु हुन सकेको छैन । वैदेशिक रोजगारीको बारेमा प्रर्याप्त ज्ञान नहुँदा अदक्ष कामदार बढी मात्रामा विदेशीने गरेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष डिक बहादुर खत्री ‘कुमार’ बताउँछन् । स्थानिय तहमा नै विदेश जानु अघि सीप सिकेर मात्र जानुपर्छ भन्ने चेतनाको अभावमा रहेको बताउँदै उनले भने, “पालिकास्तरबाटै चेतना नहुँदा सीप बिना नै कम पारिश्रमिकमा बिदेशीन्छन् ।”

प्रतिवर्ष ५ लाख युवा विदेशीने गरेका छन् । तीमध्ये ३० प्रतिशत अदक्ष कामदार विदेशीने गरेका छन् । ती युवालाई पनि दक्ष बनाएर मात्रै पठाउने परिपाटीका व्यवस्था भए विदेशमा गएर भौतारिनु नपर्ने साथै नेपालमा पनि रेमिट्यास बढ्ने उनको भनाइ छ । सात वटै प्रदेशमा वैदेशिक रोजगार सम्बन्धि तालिम केन्द्रको स्थापना गरी युवालाई सचेत गराउनु पर्ने पूर्व अध्यक्ष खत्री बताउँछन् ।

उता, माघ महिनामा ४५ हजार नेपालीले काम सिकेर गएको पाइएको छ । ४१ हजार ६३९ पुरुष र ४ हजार ९ महिला गरी कूल ४५ हजार ६४८ जना सीप सीकेका कामदार बाहिरिएका छन् । यस्तै, माघमा सेमिस्किल नेपालीको संख्या ४ हजार ३ सय २७ छ भने प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः १ सय ४० र ५४ मात्र रहेको तथ्यांक छ ।

यूएई जाने धेरै
माघ महिनामा कुन ९९ देशमा नेपादी गएकोमा सबैभन्दा धेरै नेपाली युएईको लागि गएका छन् । यूएईकोे लागि १५ हजार २४८ महिला र २ हजार ३५४ जना महिला गरी १७ हजार १०२ जना कामदार गएका छन् । यो नयाँ र पुनः श्रम स्वकृती लिनेको संख्या हो ।

यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ । यस्तै कतारका लागि १२ हजार १ सय ६४ जना जादा मलेसियाको लागि ६ हजार ७ सय ९५ जना गएका छन् ।

त्यस्तै कुवेतमा ३ हजार २ सय ५३, कोरिया १ हजार ६ सय ६०, रोमानिया १ हजार ३ सय ९७, जापान १ हजार २ सय ८०, इजरायल ७२, बेलायत २ सय ६, अमेरिका ३८ र पोल्यान्डमा १ सय ९७ जना नेपालीले श्रम स्वीकृति लिएका छन् ।

कुन जिल्लाबाट कति ?

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा सबैभन्दा धेरै धनुषाबाट बाहिएका छन् । एक महिनाको अवधिमा धनुषाबाट ३ हजार १ सय ४७ जना बाहिएका हुन् । यस्तै झापा २ हजार ९ सय ९१, मोरङ २ हजार ५ सय ७८, सिरहा २ हजार ५ सय ७२, रुपन्देही १ हजार ९ यस ५१, महोत्तरी २ हजार २ सय ७९, मुस्ताङ १५ र मनाङबाट १६ जना विदेशिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment