सहरमा २७ प्रतिशत मात्रै जनसंख्या

१८ पुस, काठमाडौं । नेपालका अधिकांश जनता गाउँबाट सहरतिर बसाइँसराइ गरेको भने तापनि तथ्यांकले भने वास्तविक सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या २७ प्रतिशत मात्र रहेको देखाएको छ ।

वास्तविक सहर अर्थात् सहरी केन्द्रमा बस्नेको संख्या १६ दशमलव ८४ प्रतिशत, घना सहरी क्षेत्रमा ६ दशमलव ८१ प्रतिशत र अर्धघना क्षेत्रमा ३ दशमलव ४१ बस्ने गरेको पाइएको छ । यस क्षेत्रको वास्तविक सहरी क्षेत्रमा २७ प्रतिशत मात्र जनसंख्याको बसोबास गर्ने पाइएको तथ्यांक कार्यालयको भनाइ रहेको छ ।

नगरपालिका भए पनि सहरोन्मुख कम र ग्रामीण परिवेश अति

२०७८ सालको जनगणनाले महानगर, उपमहानगर र नगरपालिकाभित्र ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकामा ३३ दशमलव ८३ प्रतिशत मानिस बस्ने देखाएको थियो । यसले गर्दा ६६ दशमलव १७ प्रतिशत मानिस सहरमा बसेको जस्तो देखिएको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायले विगतका जनगणनामा ग्रामीण जनसंख्या र सहरी जनसंख्या गरी विभाजन गर्ने गरेकामा जनगणना २०७८ ले यसरी विभाजन नगरेको बताउँदै यस कारण ग्रामीण वा सहरी जनसंख्या कति हो आधिकारिक तथ्यांक प्रस्तुत नभएको स्पष्ट पारे ।

सोबेला स्थानीय तहको पुनर्संरचनाअनुसार महानगर र उपमहानगरसहित २ सय ९३ नगरपालिकामा बस्ने जनसंख्यालाई सहरी क्षेत्रको जनसंख्या र ४ सय ६० गाउँपालिकामा बस्ने जनसंख्यालाई ग्रामीण जनसंख्याका रूपमा व्याख्या गरिएको थियो ।

जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये ६६ दशमलव १७ प्रतिशत जनसंख्या नगरपालिकामा र ३३ दशमलव ८३ प्रतिशत जनसंख्या गाउँपालिकामा बस्ने गरेका थिए ।

तर, अब भने राष्ट्रिय तथ्यांक कार्यालयले सहरी, अर्धसहरी वा सहरउन्मुख र ग्रामीण जनसंख्या गरेर तीन भागमा विभाजन गरेको छ । यस आधारमा सबैभन्दा धेरै मानिस अर्धसहरी क्षेत्रमा बस्ने गरेका पाइएको छ । तथ्यांक कार्यालयको तथ्यांकनुसार सहरी क्षेत्रको जनसंख्या २७ दशमलव ७, सहरोन्मुख क्षेत्रको जनसंख्या ३९ दशमलव ७५ र ग्रामीण क्षेत्रको जनसंख्या ३३ दशमलव १९ प्रतिशत रहेको देखिएको छ ।

अर्धसहरी र सहरोन्मुख नगरपालिकाका धेरै मानिस ग्रामीण परिवेशमा बस्ने र यो सहरको परिभाषाभित्र नपर्ने भन्दै राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन गरी स्थानीयकरण र पुनः परिभाषित गर्दै यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरणअनुसार मुलुकभर ‘ज्यादै न्यून जनघनत्व’को ग्रामीण क्षेत्रमा ६ लाख ८७ हजार ९ सय २२ जना मानिस बस्छन् । यो २ दशमलव ३८ प्रतिशत हो । ‘न्यून जनघनत्व’को ग्रामीण क्षेत्रमा ८६ लाख २९ हजार ३ सय ६९ जना मानिस बस्छन् । यो कुल जनसंख्याको २९ दशमलव ८३ प्रतिशत हो । ‘ग्रामीण क्षेत्र’मा २ लाख ८३ हजार १ सय २ जना मानिस बस्छन् । यो शून्य दशमलव ९८ प्रतिशत हो । ‘सहरोन्मुख क्षेत्र’मा ३९ दशमलव ७४ प्रतिशत अर्थात् १ करोड १४ लाख ९६ हजार ३ सय ७५ जना मानिस बस्छन् । यस प्रकार ग्रामीण र सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्याको प्रतिशत ७२ दशमलव ९३ प्रतिशत रहेको छ ।

२०७८ सालको जनगणनाको नतिजानुसार नगरपालिकाभित्र १ हजार २ सय ८५ वडा सहरोन्मुख परिवेश रहेको क्षेत्रमा छन् । १ हजार २ सय ४४ वडा ग्रामीण क्षेत्रमा छन् । ५ सय ९१ वडा मात्र सहरी क्षेत्रमा रहेका छन् । यो प्रतिशतका हिसाबले क्रमशः ४६, २५ दशमलव ४ र २८ दशमलव ४ प्रतिशत हो । यसका आधारमा नगरपालिकालाई राजनीतिक रूपमा सहर भनिए पनि जनसंख्याको ठूलो हिस्सा सहरोन्मुख वा ग्रामीण परिवेशमै रहेको कार्यालयको विश्लेषण छ ।

उपमहानगरपालिकाभित्र ५३ प्रतिशत मात्र जनसंख्या सहरमा र ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषतामा रहेका पाइएको छ । महानगरपालिकाभित्र ८० दशमलव ७ प्रतिशत सहरी, १७ प्रतिशत जनसंख्या सहरोन्मुख र २ दशमलव ३ प्रतिशत परिवेश ग्रामीण नै रहेको समेत अध्ययनले देखाएको छ । यस तुलनाबाट नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख र ग्रामीण परिवेशमै रहेको देखाएको छ ।

सरकारले राजनीतिक रूपमा गाउँ भनेर तोकेका गाउँपालिकाभित्र १ सय ३९ वडा (५ दशमलव ९ प्रतिशत)मा भने सहर पर्छ । ६ सय ६४ वडा (३६ दशमलव १ प्रतिशत) क्षेत्र सहरोन्मुख र २ हजार ४ सय १२ वडा (५८ प्रतिशत)मा भने ग्रामीण जनसंख्याको बसोबास रहेको छ । सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाभित्र वडाको संख्या धेरै (३ हजार ६ सय ८५) छ । यसमा कुल जनसंख्याको ३३ प्रतिशत मात्रै जनसंख्या रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७०–७१ सम्म मुलुकमा नगरपालिकाको संख्या ५८ रहेकामा राज्य पुनर्संरचनापछि नगरपालिका थप गरी अहिले २ सय ९३ वटा बन्न पुग्यो । यसले नगरवासीको जनसंख्या १७ प्रतिशतबाट बढेर ६६ प्रतिशत पुग्यो ।

जिल्लागत हिसाबले काठमाडौं जिल्लामा सबैभन्दा धेरै ९३ दशमलव ५१ प्रतिशत जनसंख्या सहरमा बसोबास गर्छन् । सहरी जनसंख्या सबैभन्दा कम भएका जिल्लामा संखुवासभा, तेह्रथुम, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा र हुम्ला रहेका छन् ।

प्रदेशगत हिसाबले धेरै सहरी जनसंख्या मधेस प्रदेशमा रहेको छ । जहाँ ९ सय ७१ वडा सहरोन्मुख रहेका छन् । बाग्मती प्रदेशमा ४ सय ४९ वटा वडा सहरी रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशका ७५ वडा मात्र सहरी विशेषताका रहेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले तथ्यांक दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव शून्य ७ पुगेको देखाएको छ ।

त्यसैगरी, सहरोन्मुख जनसंख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ ।

पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रको जनसंख्या करिब ५ दशमलव १३ प्रतिशतले घट्दा सहरोन्मुख क्षेत्रको शून्य दशमलव ५६ प्रतिशत र सहरी क्षेत्रको जनसंख्या ४ दशमलव ७६ प्रतिशतले बढेको देखिएको छ ।

भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत देखाइएको छ ।

सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत, पहाडमा ५३ प्रतिशत र तराईमा ३९ प्रतिशत रहेको छ । पहाडमै ५३ प्रतिशत सहरोन्मुख देखिनुको कारण काठमाडौं महानगर र पोखरा महानगरपालिकाको जनसंख्यालाई देखाइएको छ ।

स्थानीय तहनुसारको वर्गीकरणमा गाउँपालिकाका २ हजार ४ सय १२ वडामा ५८ प्रतिशत वडा मात्रै ग्रामीण क्षेत्रमा देखिएका छन् । जबकि, यसअघि सबै जनसंख्या ग्रामीण जनसंख्यामा गणना गरिएको थियो । ३६ दशमलव १ प्रतिशत सहरोन्मुख र ५ दशमलव ९ प्रतिशत सहरी क्षेत्रमा देखिएको छ ।

त्यस्तै, नगरपालिकाको जनसंख्यामध्ये २८ दशमलव ४ प्रतिशत सहरी क्षेत्र, ४६ प्रतिशत सहरोन्मुख र २५ दशमलव ४ प्रतिशत सहरी क्षेत्रको जनसंख्या देखिएको छ ।

उपमहानगरपालिकाको जनसंख्यामध्ये ३९ प्रतिशत सहरोन्मुख र ५३ प्रतिशत सहरी जनसंख्या देखिएको छ ।

महानगरपालिकाको जनसंख्यामा २ दशमलव ३ प्रतिशत ग्रामीण, १७ प्रतिशत सहरोन्मुख र ८० दशमलव ७ प्रतिशत सहरी जनसंख्या देखाएको छ ।

मुलुकको सन्दर्भमा ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजानुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव शून्य ७ पुगेको देखिन्छ । त्यसैगरी, सहरोन्मुख जनसंख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिन्छ । पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव ५ प्रतिशतबाट ३३ दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि ‘सहरी’ क्षेत्र मानिएका स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा रहेको देखिन्छ ।

भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिअनुसारको विश्लेषणले ग्रामीण जनसंख्या पहाडमा (६६ प्रतिशत) र हिमालमा (१६ प्रतिशत) केन्द्रित भएको देखाएको छ । सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा (८५ प्रतिशत) र पोखरा महानगरपालिका र काठमाडौंका उपत्यकाका कारण असन्तुलित हुँदै सहरी जनसंख्या पहाडमा (५३ प्रतिशत) र त्यसपछि तराईमा (३९ प्रतिशत) केन्द्रित भएको देखिएको छ ।

प्रदेशगत हिसाबले विश्लेषण गर्दा संघीय संरचनामा सहरी र सहरोन्मुख जनसंख्या (कुल ६६ दशमलव ८ प्रतिशत)को वितरण तुलनात्मक रूपमा असन्तुलित छ । मधेस प्रदेशमा सबैभन्दा उच्च (१९ दशमलव ९ प्रतिशत), त्यसपछि बाग्मती (१४ दशमलव ६ प्रतिशत) र सबैभन्दा कम (१ दशमलव २ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ । तथ्यांकले सहरी जनसंख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहहरूमा रहेको देखाउँछ । मधेस प्रदेशमा बहुसंख्याका वडा (९ सय ७१) सहरोन्मुख विशेषताका छन् । बढी सहरी क्षेत्र भएको दोस्रो ठूलो प्रदेश बाग्मती देखिन्छ, जबकि यहाँ पनि ग्रामीण वडाको संख्या ६ सय ७२ छ भने कुल सहरोन्मुख र सहरी वडा ४ सय ४९ वटा छन् । कर्णाली प्रदेशमा ६ सय ३७ वटा वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा सहरी र ६ वटा वडा सहरोन्मुख विशेषतायुक्त छन् ।

राजधानी



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment