विद्युतीय सवारीसाधनको आयात वृद्धि

१६ पुस, काठमाडौँ । सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान र जिप आयात भएका छन् ।

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ५० किलोवाटसम्मका पाँच खर्ब ८१ करोड २३ लाख ९२ हजार रुपियाँबराबरका दुई हजार २८ वटा ती सवारीसाधन आयात भएका छन् । ५२ वटा ५१ देखि एक सय किलोवाटसम्मका करिब २६ करोड २६ लाख ४२ लाख रुपियाँबराबरका विद्युतीय गाडी आयात भएका छन् ।

सोही अवधिमा सात करोड ७० लाख तीन हजार रुपियाँबराबरका ११ वटा २०१ देखि तीन सय किलोवाटसम्मका विद्युतीय सवारीसाधन आयात भएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

११ देखि १४ सिट क्षमताका १३४ वटा विद्युतीय माइक्रोबस आयात भएको छ । उक्त माइक्रोबस आयातबापत ४१ करोड ४४ लाख रुपियाँ बाहिरिएको छ । १५ देखि २५ सिट क्षमताका ५६ वटा मिनिबस आयातमा १८ करोड ७६ लाख रुपियाँ बाहिरिएको छ ।

यसै गरी ३७ करोड ८१ लाख रुपियाँबराबरको १६६ वटा जिप, कार र भ्यानसमेत आयात भएको तथ्याङ्क छ । योसँगै चालु आवको पहिलो पाँच महिनामा विद्युतीय गाडी आयातमा कुल नौ अर्ब दुई करोड ९४ लाख ३३ हजार रुपियाँ बाहिरिएको छ ।

सरकारले ५० किलोवाटभन्दा माथि क्षमताको सार्वजनिक यातायातमा एक प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र पाँच प्रतिशत सडक कर असुल्ने गरेको छ । ११ देखि १४ सिटका साना गाडीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर, १० प्रतिशत भन्सार र सात प्रतिशत सडक कर लिने गरिएको छ । निजी गाडीको आयात बढे पनि सार्वजनिक विद्युतीय गाडीको आयात बढ्न नसकेको विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment