बिजुलीको माग अहिलेसम्मकै उच्च, गत वर्षभन्दा ३०० मेगावाटले बढ्यो

२३ जेठ, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको माग अहिलेसम्मकै उच्च भएको बताएको छ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार हाल पिक आवरमा दैनिक १ हजार ९ सय ५० देखि दुई हजार मेगावाटसम्म बिजुलीको माग छ। यो हालसम्मकै उच्च हो।

‘अघिल्लो वर्षसँग तुलना गर्दा ३ सय मेगावाटले माग बढेको छ। गत वर्ष यही समयमा सरदर माग १ हजार ७ सय मेगावाट थियो,’ भट्टराईले भने।

उनका अनुसार यो सुख्खा सिजनामा नेपालको विद्युत उत्पादन क्षमता एक हजार मेगावाट हाराहारी मात्र छ।

सिजन सुख्खा भएको तथा गर्मी बढेपछि सहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ।

यही जेठ १३ गते भने वर्षाका कारण बिजुली उत्पादन बढेपछि नेपालले भारतलाई बिजुली बिक्री गरेको थियो। उक्त दिन ६ सय मेगावाट आवर (२५ मेगावाट) बिजुली भारत बिक्री गरिएको थियो।

तर फेरि वर्षा नहुँदा प्राधिकरणले अपुग बिजुली भारतीय बजारबाट खरिद गरिरहेको छ। अहिलेको समयमा पिक आवरमा ९ सयदेखि एक हजार मेगावाटसम्म बिजुली अपुग छ।

‘सबै अपुग बिजुली भारतीय बजारबाट खरिद गरिएको छ,’ भट्टराईले भने।

हाल नेपालमा बिजुलीको कुल जडित क्षमता २ हजार ६ सय ६६ मेगावाट छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ।

सर्वेक्षण अनुसार २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढी २ हजार ६ सय ६६ मेगावाट पुगेको हो।
२०७९ असारसम्म २ हजार १९० कुल जडित विद्युत क्षमता थियो।

जसमा जलविद्युतबाट २ हजार ४ सय ४९ मेगावाट, सौर्य प्लान्टबाट ७५.४, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ मेगावाट छ।

त्यस्तै, चिनी मिलबाट सह उत्पादन प्रविधिमार्फत् ६ मेगावाट विद्युत उत्पादन भएको छ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत परियोजनाबाट ६ सय ६१ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत् ४ सय ७८ मेगावाट, निजी क्षेत्रबाट सञ्चालित विद्युत परियोजनाबाट १ हजार ५ सय २७ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको छ।

वर्षायाममा बिजुली खेर जाने समस्या भए पनि हिउँदमा भने हामी आफैँलाई बिजुली अपुग हुने समस्या छ।

हिउँदको समस्या समाधानका लागि सरकारले जलाशययुक्त जलविद्युत आयोजना विकासलाई तीव्रता दिने नीति अघि सारेको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ५७ विद्युत आयोजनाबाट ८ सय ११ मेगावाट थप जलविद्युत उत्पादन हुने अनुमान गरेको छ। आर्थिक सर्वेक्षणमार्फत २०७९/८० ले यस्तो अनुमान गरिएको हो।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ मा ३६ आयोजनाबाट थप ७ सय ५४ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ।

२०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन ६६ केभी र सोभन्दा माथि ५ हजार ६ सय ६९ सर्किट किलोमिटर पुगेको छ। साथै, वितरण लाइन ३३ केभी र सोभन्दा कम एक लाख ३६ हजार ५ सय ९५ सर्किट किलोमिटर पुगेको छ।

२०७९ असारसम्म प्रसारण लाइन ६६ केभी र सोभन्दा माथि ४ हजार ५ सय ७३ सर्किट किलोमिटर तथा वितरण लाइन एक लाख २३ हजार ५ सय ५७ सर्किट किलोमिटर छ।

चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट एक हजार ११ गिगावाट घण्टा बिजुली आयात भएको छ। एक हजार ५३ गिगावाट घण्टा बराबरको बिजुली निर्यात भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा बिजुलीको माग पूर्तिको लागि भारतबाट कुल १ हजार ५ सय ४३ गिगावाट घण्टा विद्युत आयात र ४ सय ९३ गिगावाट घण्टा विद्युत निर्यात भएको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment