निर्जीवन बीमाको बीमाशुल्क पौने ५ प्रतिशत बढ्यो, पाँच कम्पनीको घट्यो

२२ जेठ, काठमाडाैं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय पछिल्लो एक वर्षमा ४.७८ प्रतिशत अर्थात १ अर्ब ४९ करोड २५ लाख रुपैयाँले बढेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ६८ करोड ९६ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक बढ्यो

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ३६.६७ प्रतिशतले कुल बीमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा नेको इन्स्योरेन्सको सबैभन्दा कम १.८५ प्रतिशत वृद्धि भएको छ ।

राष्ट्रिय बीमा कम्पनीले विसं २०७९ बैशाखको तुलनामा ३६.६७ प्रतिशत अर्थात ५४ करोड ३३ लाख रुपैयाँले बीमाशुल्क बढाउँदै २ अर्ब २ करोड ५१ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । गत आवको सोही अवधिमा १ अर्ब ४८ करोड १८ लाख रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी दोस्रो ठूलो बीमाशुल्क वृद्धि गरेको अजोड इन्स्योरेन्सले १ अर्ब ७१ करोड २६ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको दश महिनामा १ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ संकलन गरेकोमा २७.९५ प्रतिशतले कुल बीमाशुल्क संकलन गरेको हो ।

बैशाख मसान्तसम्ममा तेस्रो ठूलो व्यवसाय बढाएको सानिमा जिआईसी इन्स्योरेन्सको १६.०२ प्रतिशतले बीमाशुल्क संकलन गरेको छ । विसं २०७९ बैशाखसम्म १ अर्ब ५६ करोड ९१ लाख कम्पनीले १ अर्ब ८२ करोड ५ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले बैशाख २६ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

दश महीनामा पौने ३३ अर्बको निर्जीवन बीमा व्यवसाय, कसको कति ?

यसैगरी नेशनल इन्स्योरेन्स कम्पनीले बैशाख मसान्तसम्ममा ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । विसं २०७९ बैशाखसम्म ७४ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेशनल इन्स्योरेन्सले १०.५६ प्रतिशतले बीमाशुलक वृद्धि गरेको हो ।

बैशाखसम्म आइएमई प्रुडेन्सियल इन्स्योरेन्सको कुल बीमाशुल्क ९.६५ प्रतिशतले वृद्धि गरेको छ । विसं २०७९ बैशाखसम्म २ अर्ब ४६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको आइएमई प्रुडेन्सियल इन्स्योरेन्सले विसं २०८० बैशाखसम्म २ अर्ब ७० करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । विसं २०७९ बैशाखसम्मको बीमाशुल्क रकममा तत्कालीन आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स दुबैले संकलन गरेको जोडिएको छ । हाल दुई कम्पनीहरु एक भई २०८० बैशाख २६ गतेदेखि एकीकृत कारोबार थालेको छ ।

पछिल्लो एक वर्षमा प्रभु इन्स्योरेन्सले विसं २०८० बैशाखसम्म १ अर्ब २७ करोड १० लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । विसं २०७९ बैशाखसम्म १ अर्ब १७ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको कम्पनीको बीमाशुल्क ८ प्रतिशतले बढेको हो ।

बैशाखसम्म रकमका आधारमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको शिखर इन्स्योरेन्सले ७.१४ प्रतिशतले कुल बीमा शुल्क वृद्धि गरेको छ । कम्पनीले ४ अर्ब ४२ करोड ६९ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १३ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

यस्तै एनएलजी इन्स्योन्सले २.७९ प्रतिशतले कुल बीमाशुल्क संकलन रकम वृद्धि गर्दै १ अर्ब ९८ करोड ८० लाख ६६ हजार रुपैयाँ संकलन गरेको छ । गत आवको बैशाखसम्म कम्पनीले १ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा दी ओरियन्टल इन्स्योरेन्सको कुल बीमाशुल्क रकम २.२६ प्रतिशत र नेको इन्स्योरेन्सको १.८५ प्रतिशत वृद्धि भएको छ । बैशाख मसान्तसम्ममा ओरियन्टल इन्स्योरेन्सले १ अर्ब १६ करोड ८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा ओरियन्टल इन्स्योरेन्सले १ अर्ब १३ करोड ५१ लाख रुपैयाँ संकलन गरेको थियो ।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने नेको इन्स्योरेन्स रहेको छ । नेकोको बीमाशुल्क १.८५ प्रशितले मात्रै वृद्धि गर्दै २ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा नेकोले २ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा शिखरको हिस्सा १३.५४ प्रतिशत, सगरमाथा लुम्बिनीको ११.४१ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको हिस्सा ११.१६ प्रतिशत रहेको छ ।

पाँच कम्पनीको बीामाशुल्क घट्यो, युनाइटेड इन्स्योरेन्समा सर्वाधिक गिरावट

सञ्चालनमा रहेको पन्ध्र निर्जीवन बीमा कम्पनीहरुमध्ये दश कम्पनीले व्यवसाय विस्तार गर्दा पाँच वटाको व्यवसाय भने घटेको छ । समीक्षा अवधिमा युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट र नेपाल इन्स्योरेन्सको बीमा शुल्क घटेको हो ।

युनाइटेड इन्स्योरेन्सको बीमा शुल्क सर्वाधिक ९.९१ प्रतिशतले घटेको छ । बैशाखसम्म कम्पनीले १ अर्ब १५ करोड ५४ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड २५ लाख रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी फागुन १७ गतेदेखि एकीकृत कारोबार थालेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क ४.२८ प्रतिशत घटेको छ । गत आवको यहि अवधिसम्ममा ३ अर्ब ८१ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिसम्ममा ३ अर्ब ६४ करोड ९६ लाख ७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा फागुन २९ गतेदेखि एकीकृत कारोबार थालेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमाशुल्क ३ अर्ब ७३ करोड ७ लाख ७८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८६ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

गत आर्थिक वर्षको यहि अवधिको तुलनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.६२ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.३४ प्रतिशतले बीमाशुल्क घटेको छ । बैशाखसम्ममा हिमालयन एभरेष्टले कुल २ अर्ब ४९ करोड ४ लाख ३६ हजार रुपैयाँ तथा नेपाल इन्स्योरेन्सले १ अर्ब २७ करोड १७ लाख ९४ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको बैशाखसम्ममा हिमालयन एभरेष्टले कुल २ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ तथा नेपाल इन्स्योरेन्सले १ अर्ब २८ करोड ९० लाख बीमाशुल्क संकलन गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment