शेयर बजारमा आउन थाल्यो सुधार, तीन दिनमा ५९ अंकले बढ्यो

०४ जेठ, काठमाडौं । शेयर बजार परिसूचकमा निरन्तर घटेर तल्लो बिन्दुमा झरेपछि बजारमा माग बढेपछि नेप्सेमा सुधार आउन थालेको छ । जेठ १ गते सोमबार बजार सूचक पछिल्लो समयको सबैभन्दा कम १८१८ बिन्दुमा झरेपछि बजारमा उच्च खरिद माग आउन थालेपछि पछिल्लो तीन दिनदेखि बजारमा हरियाली छाएको हो ।

यसैगरी शेयर लगानीकर्ताको तीनवटा संगठनहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनीको इजाजत प्रकृया अगाडि बढाउन, शेयर धिताकर्जामा लाग्दैआएको १२ करोडको सीमा खारेज गर्न तथा शेयर जोखिम भारलाई १५० बाट १०० प्रतिशतमा झार्ने लगायतका ६ बुँदै मागपत्र पेश गरेका थिए । लगानीकर्ताको बजारप्रतिको पहलले पनि बजार वृद्धिमा टेवा पुगेको छ ।

जेठ २ गते मंगलबार ३.३१, बुधबार २३.४० अंक र बिहीबार ३२.३० अंकले बढेको हो । बिहीबारको वृद्धिसँगै बजार सूचक १८७७.३२ अंकमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेपछि कारोबार रकममा पनि सुधार आएको छ ।

बिहीबारको बजारमा कारोबार रकम पनि ६१ करोड ७१ लाख रुपैयाँले बढेको छ । आज २६४ स्क्रिप्टका ४४ लाख २२ हजार १८६ कित्ता शेयर ३२ हजार ५७९ वटा संख्या खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४७ कोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँमा समेटिएको छ । कारोबारमा आएकामध्ये २३१ कम्पनीको शेयरमूल्य बढेकोछ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य घटेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटनमुलक सूचक ३.७५ प्रतिशतले बढेको छ । यस्तै ब्यापार ३.७१ प्रतिशत, जलविद्युत २.८२, विकास बैंक २.५५, लघुवित्त २.२४, फाइनान्स २.१७ र जीवन बीमा २.०९ प्रतिशतले बढेको छ । दोहोरो अंकले बढेको बजारमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी शिवश्री हाइड्रोपावर ८.१४, गणपति लघुवित्त ७.८३ र श्वेत गंगा हाइड्रोपावरको ७.०४ प्रतिशतले बढेको छ ।

यस दिन एनआईबिएल ग्रोथ फन्डको इकाईमूल्य सर्वाधिक ३.१४ प्रतिशत, हिमालयन बैंक डिबेञ्चर २०८३ को मूल्य १.९९ प्रतिशत, एनएमबि ५० को इकाईमूल्य १.९६, सामुदायिक लघुवित्त १.९६ र किसान लघुवित्तको शेयरमुलय १.९१ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार बिहीबारको बजारमा ८ करोड ६३ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । यस्तै शिवम् सिमेन्टस्को ७ करोड ११ लाख १० हजार, एनआईसी एशिया बैंकको ६ करोड ७६ हजार १७ लाख, एभरेष्ट बैंक ३ करोड ५९ लाख ८४ हजार र नागरिक लगानी कोषको ३ करोड ४५ लाख २१ हजार रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment