गण्डकी प्रदेशको अर्थमन्त्रीमा जितप्रकाश आलेमगर

३० बैशाख,पोखरा। गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा. टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा अन्तिमसम्म थिए ।

७ सदस्यीय मन्त्रिपरिषद्‌‌मा  मुख्यमन्त्री र एकजना मन्त्री कांग्रेसबाट सुरुमै भए । थप दुई मन्त्रालय पाउँदा धेरैले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने निक्र्योल निकालेका थिए ।

मन्त्री बन्ने चर्चामा कतै सुनिएको नाम थिएन सांसद जितप्रकाश आलेमगर । जितप्रकाशको नाम न, सञ्चार माध्यमले नै उल्लेख गरे न कांग्रेस सांसदले नै । जसै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार ४ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिए, त्यहाँ जितप्रकाश आले पनि समेटिए । त्यो पनि शक्तिशाली अर्थ मन्त्रालयको बागडोर उनको जिम्मामा पर्‍यो ।

आले नियुक्त भएर सपथ लिन प्रदेश प्रमुख निवास पुग्दासम्म उनी मन्त्री बन्ने सुइँको अधिकतम सांसदले पाएनन् । तर, मुख्यमन्त्रीनिकट स्रोत भने उनी पहिलेदेखि नै मन्त्रीको लाइनमा भएको बताउँछ । ‘अरु मन्त्रीजस्तो उहाँ पनि मन्त्रीको दौडमै हुनुहुन्थ्यो, अन्तिममा उहाँले अलि बल लगाउनुभयो अनि उहाँले जित्नुभो र मन्त्री हुनुभो,’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका एकमात्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा चल्दा आलेको नाम कसैले लिएनन् । कांग्रेसबाट दुई मन्त्री बन्दा भूगोलको हिसाबले नवलपुरका महेन्द्रध्वज जिसी र धौलागिरी क्षेत्रको बागलुङका दीपेन्द्रबहादुर थापाको नाम आउँथ्यो । बीचमा कांग्रेसले थप २ मन्त्रालय लिने करिब ‘कन्फर्म’ भइसकेको थियो ।

सोही समयमा आलेमगर मन्त्रीको लाइनबाट बाहिरिएको जस्तो थियो । उनी गृहजिल्ला तनहुँ फर्किसकेका थिए । तर, कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको जोडबलपछि उनी पुनः मन्त्री बन्ने दौडमा फर्किए । त्यसो त राष्ट्रपति रामचन्द्र पौडेलका विश्वासपात्र पनि हुन् आले ।

गठबन्धनकै कारण एकीकृत समाजवादीबाट मन्त्री बनाउनुपरे बरु गैरसांसदलाई ६ महिना मन्त्री बनाउनुपर्ने तर मनाङेलाई कुनै पनि हालतमा मन्त्री बनाउन नहुने मत कांग्रेसभित्र बलियो भयो । मुख्यमन्त्री पाण्डे पनि मनाङेलाई मन्त्री बनाउनै नपरे हुन्थ्यो भन्नेमै थिए । उनी सोही विषय लिएर काठमाडौं पनि पुगे ।

र, केन्द्रीय नेतृत्वलाई ‘कन्भिन्स’ गराए, त्यसपछि गण्डकीमा कांग्रेसले थप ३ मन्त्रालय लिने अवस्था आयो, त्यसमा सबैलाई पन्छाउँदै जितप्रकाशले जित हात पारे । ‘जब मुख्यमन्त्री काठमाडौं जानुभो, कांग्रेसले थप ३ मन्त्रालय लिने सहमति भयो, त्यसपछि अस्ति बेलुका (बिहीबार) मात्रै जितप्रकाश मन्त्री बन्ने निश्चित भएको हो,’ मुख्यमन्त्री स्रोतले भन्यो ।

कांग्रेसका भागमा ५ मन्त्रालय पाउँदा भाग्य खुलेका जितप्रकाश मन्त्री मात्रै बनेनन्, शक्तिशाली अर्थ मन्त्रालयको तालाचाबी नै पाए । शंकर भण्डारीको जोडबल र संसदीय दलको नेता बन्न पाण्डेलाई समर्थन गरेका कारण जितप्रकाशलाई गण्डकीको अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने स्वर्णिम अवसर जुट्यो । ‘जितप्रकाशको सोझोपना देखेर आफैको प्रभाव बढी जमाउन सकिन्छ अर्थमन्त्री नियुक्त गरेको हुन पनि सक्छ,’ स्रोतले भन्यो ।

जितप्रकाश राष्ट्रपति रामचन्द्र पौडेल कित्ताका थिए । तर, नेपाली कांग्रेसको चौथौं महाधिवेशनमा रामचन्द्र बैकुन्ठ न्यौपानेलाई जिल्ला सभापतिमा उठाएपछि जितप्रकाश पार्टी सभापति शेरबहादुर देउवा कित्तामा गएर सभापति लडे र जिते । कित्ता परिवर्तन गरेर जित्नु उनको सरप्राइज थियो । पछि रामचन्द्र पौडेल कित्तामै फर्किएका थिए ।

‘आर्थिक अवस्थालाई सुढृढ गर्न मेरो ध्यान जानेछ’

गण्डकीमा नवनियुक्त अर्थमन्त्री जितप्रकाश आलेमगरले प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्न आफ्नो विशेष ध्यान दिने बताएका छन् । उनले अहिले आर्थिक अवस्था कमजोर रहेको भन्दै यसलाई उकास्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘अब करिबकरिब सिलिङहरु तयार भइसकेको छ । त्यसैमा रहेर अहिलेको जुन आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर, आर्थिक अनुशासनमा बसेर, उत्पादनमूलक काममा विशेष जोड दिएर, चालु खर्चलाई कटौटी गर्ने, राजस्वका लागि दायरा फराकिलो पार्ने र गण्डकी प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्ने काम मेरो विशेष ध्यान जानेछ,’ उनले भने ।

पुँजीगत खर्च बढाउने र चुहावट न्यूनीकरण गर्ने खालका योजना लिएर अगाडी बढ्ने अर्थमन्त्री आलेमगरले उल्लेख गरे । उनले भने, ‘मितव्ययी कार्यक्रम गर्ने, पुँजीगत खर्चलाई सकेसम्म नघटाउने, चालु खर्च सकेसम्म कम गर्न, आउने चुहावटहरु सकेसम्म न्यूनीकरण गर्ने यही कुरा राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment