भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

०९ चैत, एजेन्सी । ‘सभी चोरों का सरनेम मोदी क्यों होता है?’ अर्थात् ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्तिका कारण भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको छ।

गुजरातको सूरत सेशन अदालतले आपराधिक मानहानीको मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै २ वर्षको सजाय सुनाएको हो। भारतीय दण्ड संहिता ‘इन्डियन पिनल कोड’ (आईपीसी)मा आपराधिक मानहानीको मामिलामा अधिकतम २ वर्षको सजाय हुने प्रावधान छ।

राहुललाई अदालतबाट तुरुन्तै ३० दिनका लागि जमानत समेत प्राप्त भएको छ। अदालतले राहुललाई माथिल्लो अदालतमा निवेदन दिने समय पनि दिएको छ। उनी यस दौरान पूर्ण जमानत (पर्मानेन्ट बेल)का लागि समेत आवेदन दिन सक्छन्।

सन् २०१९ मा कर्नाटकमा आयोजित एक र्‍यालीका दौरान राहुलले ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्ति दिएका थिए। राहुलको उक्त अभिव्यक्तिले सम्पूर्ण मोदी समाजको अपमान गरेको भन्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।

४ वर्ष पुरानो यो मामिलामा गुजगारको सूरत कोर्टले बिहीबार राहुललाई दोषी ठहर गरेको हो।

अदालतमा मुद्दामाथि सुनुवाइ चलिरहँदा राहुल पनि उपस्थित हुने गरेका थिए। बिहीबार अन्तिम सुनुवाइ हुँदा पनि राहुल दिल्लीबाट सूरत पुगेका थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment