सट्टेबाजी खेलाउने वान एक्स बेटका ६ एजेन्ट पक्राउ, देखियो ५३ करोडको कारोबार

०८ चैत, काठमाडौं । सट्टेबाजी खेलाउने गरेको आरोपमा वान एक्स बेटका ६ जना एजेन्ट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
उनीहरुबाट ५३ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी कारोबार भएको खुलेको छ।

पक्राउ पर्नेहरुमा जुम्लाको चन्दननाथ नगरपालिका–६ खलंगाका २३ वर्षीय दिलिप सिंह कठायत, चन्दननाथ नगरपालिका–१० गैरीगाउँका २३ वर्षकै भुपालराज न्यौपाने, चन्दननाथ–५ का १९ वर्षीय नयनराज भण्डारी, सर्लाहीको बलरा नगरपालिका–५ का २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं महानगरपालिका–३२ कावासुदेव पाण्डे र काभ्रेको मादनकुडारी गाउँपालिका–१ का २६ वर्षीय शिवानी तामाङ छन्।

विभिन्न खेलहरुमा उनीहरु वान एक्स वेटमार्फत सट्टेबाजी खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए। उनीहरुबाट सट्टेबाजी खेलाउन प्रयोग गरिएको ३४६ थान सीमकार्ड समेत बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिताको दफा १२५को उपदफा ४ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेकामध्ये दिलिपले विगत १ वर्षदेखि, भुपालराजले ९ महिनादेखि, नयनराजले ६ महनिादेखि, बरुण र शिवानीले ले ६ महिनादेखि बेटिङ खेलाउने गरेको पाइएको छ।

सट्टेबाजीबाट आएको रकम उनीहरुले संकलन गर्ने र कमिसन लिएर भुक्तानी गर्ने गरेका थिए। रकमको लोभमा विभिन्न व्यक्तिहरुको नाममा डिजिटल वालेट तथा अकाउन्ट खोली कारोबार गर्ने गरेको पाइएको छ।

दिलिप, भुपालराज र नयनराजयले आफ्नै नाममा ८ वटा र बहिनीको नाममा २ वटा नक्कली कम्पनी खडा गरी उक्त विभिन्न नाममा २ वटा कर्पोरेट खाता गरी १२ वटा खाता सञ्चालनमा ल्याएर बेटिङ खेलाउने गरेको पाइएको एसएसपी केसीले बताए।

१२ वटा खाताहरुमध्ये ९ वटा खातमार्फत ७ करोड ७७ लाख ८७ हजार ३२८ रुपैयाँ बराबरको बेटिङ कारोबार भइसकेको पाइएको छ। बाँकी ३ वटा खाताको कारोबार विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दिलिपको कोठाबाट प्रहरीले एनसेलको सीम ६३ थान, एनटिसीको सीम १९ थान, स्मार्ट १ थान गरी ८३ थान सी बरामद गरेको छ। भुपालराजको कोठाबाट ९१ थान एनसेलको सीम, ४७ थान एनटिसीको सीम गरी १३८ थान सीम बरामद भएको छ । नयनराजको साथबाट एनसेलको ११६ थान, एनटीसीको ६ थान गरी १२३ र बरुणकोबाट २ थान गरी कुल ३४६ थान सीम कार्ड बरामद भएको छ।

बरुणले मात्रै ८२ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको बेटिङ कारोबार गरिसकेको अुनसन्धानबाट खुलेको छ।
शिवानीले ४७ लाख ९३ हजार १० रुपैयाँ बराबरको कोरोबार गरेको खुलेको छ।

हालसम्म विभिन्न ३५ जना व्यक्तिहरुको नाममा खोलिएको डिजिटल वालेटहरुमार्फत ४१ करोड १५ लाख ८९ हजार २७६ र विभिन्न १५ जना व्यक्तिको नाममा खोलिएको बैंक खातामार्फत १२ करोड २५ लाख ३५ हजार ९११ गरी ५३ करोड ४० लाख भन्दा बढीको सट्टेबाजी कारोबार गरकेो अनुसन्धानबाट खुलेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment