यसपालि पनि धान रोप्ने बेला रासायनिक मल अभाव

०३ चैत, काठमाडौं । धान रोप्ने बेला रासायनिक मल नपाउने समस्या यसपालि पनि दोहोरिने निश्चितजस्तै भएको छ । यसपटक धानबालीका लागि ९० हजार मेट्रिक टन रासायनिक मल अपुग हुन सक्ने अनुमान गरिएको हो ।

चालू आर्थिक वर्षको बजेटबाट खरीद गरिने रासायनिक मल समयमा नआइपुग्दा अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि धानबालीका लागि मल अभाव हुने निश्चितजस्तै देखिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख बालीधानका लागि मल अभाव हुन सक्ने देखिएको बताएको छ । धानको बीउ राख्नेदेखि रोपाइँ गर्ने बेलासम्म करीब १ लाख मेट्रिक टन युरिया र ५० हजार टन डीएपी आवश्यक पर्छ । त्यसपछि टप ड्रेसिङका लागि फेरि छुट्टै ६० हजार टन युरिया र ३० हजार टन डीएपी चाहिन्छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले चालू आर्थिक वर्षमा मल खरीदका लागि बजेट भाषण र थप स्रोत सुनिश्चिततामार्फत ३१ अर्ब रुपैयाँ छुट्ट्याएको थियो ।

उक्त बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत भारतसँग जीटुजी प्रक्रियाबाट ३० हजार टनसहित ३ लाख ३१ हजार ५ सय टन मल किन्ने व्यवस्था भइसकेको छ । त्यसमध्ये २ लाख ३७ हजार ५ सय टन मल आयात भएको छ । ९४ हजार टन आयात गर्न बाँकी छ । यसले गर्दा धान रोप्ने सिजनमा मल अभाव हुन सक्ने संकेत देखिएको उनले बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग ५२ हजार टन युरिया, ४ हजार टन डीएपी र ५ सय टन पोटास मल मौज्दात छ । २० हजार टन डीएपी नेपाल भित्रिने क्रममा छ । २० हजार टन युरिया पनि आयातको पाइपलाइनमा छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँग २७ हजार टन युरिया र १८ हजार टन डीएपी मौज्दात छ । यो सबै मल चैतेधान र मकै बालीका लागि ठिक्क हुने भएकाले वर्षेबालीका लागि थप मल आवश्यक पर्ने कृषि कम्पनीका खरीद विभाग प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गतवर्षको मागलाई आधार मान्ने हो भने त्यसअनुरूप मल ल्याउन नसके जेठ र असारमा मल अभाव हुने पक्का जस्तै छ । ‘यद्यपि रोकिएको मल समयमा ल्याउन सकेमा र सरकारले पछिल्लोपटक स्रोत सुनिश्चित गरेको ७ अर्ब ५० करोड रुपैयाँबाट पनि समयमै मल खरीद प्रक्रिया अघि बढाउन सके अभाव टार्न सहज हुनेछ,’ उनले आर्थिक अभियानसँग भने ।

कम्पनीले आगामी आर्थिक वर्षमा विनियोजन हुने बजेटबाट २५ हजार टन डीएपी र ३० हजार टन युरियाका लागि टेन्डर आह्वान गरिसकेको छ । सोही परिमाणको अर्को खेपका लागि बोलपत्र आह्वान गर्ने प्रक्रियामा कम्पनी छ । साल्ट ट्रेडिङले गतवर्षको बजेटबाट टेन्डर प्रक्रिया पूरा भएको ५० हजार र २७ हजार टन युरियाका साथै २० हजार टनको तीनओटा टेन्डरबाट मल ल्याउन नसकेपछि मल अभाव देखिन गएको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment