२६०औँ वार्षिकोत्सव विशेष कार्यक्रम गरेर मनाउने सेनाको तयारी

१४ माघ, काठमाडौं । नेपाली सेनाले संगठन स्थापनाको २६०औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ। सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को संख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, संगठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ। नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवर्द्धनमा योगदान पुर्‍याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो। सैनिक संगठनमा गीत, संगीत र बाजागाजालाई अभिन्न अंगका रुपमा लिने गरिन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले राष्ट्रपति एवं परमाधिपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्चमा मुख्य समारोहको आयोजना गरी सेना दिवस मनाउँदै आएको छ।

सोही अवसर पारेर छाउनी र सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा अमर शहीदको सम्मानमा यस वर्षदेखि अखण्ड दीप प्रज्वलनको सुरुआत हुने प्रवक्ता भण्डारीले जानकारी दिए। महाशिवरात्रिका दिन यो वर्ष सेना दिवस आगामी फागुन ६ गते मनाइँदैछ।

आधुनिक नेपालको एकीकरण अभियानका क्रममा विसं १८१९ मा पृथ्वीनारायण शाहले प्रारम्भमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख गरी पाँच सैनिक कम्पनी खडा गरेपछि वर्तमान सेनाको सांगठनिक स्वरुपको सुरुआत भएको हो।

पशुपतिनाथको दर्शनका लागि स्वदेशी तथा विदेशदेखि ठूलो संख्यामा तीर्थयात्री काठमाडौं आउने हुनाले त्यसको महत्त्वसमेतलाई दृष्टिगत गरी शिवरात्रिका दिन टुँडिखेलमा भव्य समारोहको आयोजना गरी सेनाले स्थापना दिवस मनाउँदै आएको छ।

सेना दिवसकै अवसरमा नेपाली सेनाको मानार्थ महारथी प्राप्त भारतीय सेनाका भूतपूर्व तथा वर्तमान सेना प्रमुखलाई अतिथिका रुपमा आमन्त्रण गरी सम्मान गर्दैछ।

नेपाल र भारतबीच एक–अर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ। सेना दिवस समारोहमा यहाँस्थित दूतावास र नेपालका लागि अवैतनिक तोकिएका दूतावासका सैनिक सहचारीले पनि भाग लिनेछन्।

पछिल्ला वर्षमा सेनाले स्थापना दिवसका अवसर पारेर ठूलो संख्यामा धावक सम्मिलित प्रधानसेनापति दौड प्रतियोगिता गर्दै आएको छ। यस वर्ष माघ २८ गते उक्त प्रतियोगिता हुनेछ।

सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत सेना दिवस विविध कार्यक्रम गरी मनाउने प्रचलन छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment