युट्युब प्रयोग गर्दा शुल्क लाग्ने दिन आउँदै हो ?

०८ माघ, एजेन्सी । केही वर्षदेखि युट्युबले आफैँ स्वतन्त्र रूपमा कार्यक्रम शृंखलाहरू निर्माण गर्दै आइरहेको थियो । तीमध्ये अलि बढी चर्चामा आएको साइन्स फिक्सन शृंखला १०० (वन हन्ड्रेड) पनि थियो । त्यो शृंखला अन्यत्र पनि प्रसारण भयो तर युट्युबमा भने त्यति धेरै हिट हुन भने सकेन ।

प्रयोगका रूपमा शुरू भएको सो शृंखलापछि भने यतिबेला युट्युबले आफैँ विभिन्न कन्टेन्ट निर्माण गर्ने नभई विभिन्न टेलिभिजनहरूको लाइभ स्ट्रिमिङ नै जोड्नेतर्फ आफ्नो पाइला अघि बढाइरहेको छ ।

अहिले पनि टेलिभिजनमा प्रसारण हुने धेरैजसो सामग्रीहरू प्रसारण भएको केही घण्टापछि वा केही दिनपछि युट्युबमा हेर्न पाइन्छ । सबै सामग्री भने हेर्न पाइँदैन ।

केही सञ्चालकहरूले आफ्नो कार्यक्रमहरू युट्यबमा प्रसारण गर्ने गर्दैनन् । तर युट्युबमा नै टिभीमा जस्तै केबल अपरेटरले टिभी च्यानलको सेवा उपलब्ध गरायो भने के मानिसले न्यूनतम रकम तिर्न चासो देखाउलान् त ? यसै विषयमाथि अहिले युट्युबले काम गरिरहेको हो ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारअनुसार युट्युबले केबुल टिभी सञ्चालक कम्पनीहरूसँग मिलेर टिभीको जस्तै सेवा प्रवाह गर्ने आन्तरिक तयारी गरिरहेको छ । हाल कम्पनीले केही मिडिया पार्टनरसँग मिलेर यो सेवाको लागि काम गरिरहेको हो ।

यदि यस्तो भएमा प्रयोगकर्ताहरूले निःशुल्क रुपमा आफ्नो युट्युबमा नै टिभी च्यानलहरू हेर्न पाउनेछन् । यो फिचर २०२३ को अन्त्यसम्ममा सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

हाललाई केही थोरै संख्यामा प्रयोगकर्ताहरूलाई यो सेवा परीक्षण प्रयोगका लागि उपलब्ध गराइएको हो ।

योभन्दा अगाडि नै युट्युबले सशुल्क रुपमा हेर्न पाइने गरी ३० ओटा स्ट्रिमिङ सेवाहरूको सुरुवात गरिसकेको छ तर विश्लेषकहरूले त्यसका लागि क्रमशः समयक्रममा शुल्क लगाउने तयारीसमेत गरेको बताइरहेका छन् । यसो भए, एकै ठाउँमा धेरै र संसारभरका टेलिभिजनहरूको स्वाद लिन सकिने र त्यसका कारण युट्युबको मूल्य अझ बढ्ने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment