वीरगञ्ज महानगरले पनि थाल्यो सहर व्यवस्थापन

०३ पुष, काठमाडाैं । अव्यवस्थित र भद्रगोल मानिँदै आएको वीरगञ्ज महानगरपालिकाले पनि सडक फुटपाथ तथा सवारी पार्किङ व्यवस्थापन सुरु गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नाला तथा सडकछेउमा हुने गरेको अतिक्रमण हटाउन थालेको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

महानगरले शनिबार बिहान वडा नम्बर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाएको महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

‘महानगरले शनिबारदेखि जथाभावी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्र क्लियर गरेका छौँ, अब सहज हुने अपेक्षा छ ।’ यो अभियान निरन्तर गरी सहरलाई व्यवस्थित र सुन्दर बनाउने उनले बताए ।

अहिले महानगर र सरोकारवालाहरुको सकृयतामा घण्टाघरदेखी नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरेको छ ।

ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

तीन पाङ्ग्रे र चारपाङ्ग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउठाउँमा बोर्ड राखिएको र अटेरी गर्दै पार्किङ गर्ने त्यस्ता सवारीलाई ५ हजारसम्म जरिवाना गरिने पनि उनले बताए ।

महानगरले सवारी पार्किङका लागि निश्चित स्थान तोकेकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि सबैलाई अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment