पहिरोको जोखिममा चितवनको सराथोक, गाउँ छाड्दै स्थानीय

११ जेठ, मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–४ सराथोकमा गाउँको छेउबाट पहिरो जान थालेपछि गाउँ जोखिममा परेको छ। पुरानो गुरुङ गाउँमध्येको एक सराथोकमा वर्षामा पहिरोको जोखिम बढ्ने भन्दै स्थानीय गाउँ छाड्न थालेका छन्।

सराथोक गाउँले जिल्लाको सयौँ वर्ष पुरानो इतिहास बोकेको स्थानीय बताउँछन्। विसं २०७२ को विनाशकारी भूकम्पबाट तहसनहस भएको गाउँ विस्तारै पुनःनिर्माण गर्दै उठेको थियो। पछिल्लो समय पहिरोको चपेटामा पर्न थालेको भन्दै वर्षामा स्थानीय थप त्रसित हुने छविलाल गुरुङले बताए। उनका अनुसार हरेक वर्ष वर्खा लाग्न थालेसँगै स्थानीय डराइडराइ बस्नुपर्ने बाध्यता छ।

पहिरोका कारण गाउँबस्ती नै जाखिममा परेपछि गाउँ छोडेर जानेहरू बढेका स्थानीय हरि गुरुङले बताए। उनले भने, ‘कुनैबेला करिब ३५ घर रहेको यो गाउँमा अहिले २० घर मात्र छन्।’

पहिरोका कारण पुरानो गुरुङ गाउँ जोखिममा परेपछि बस्ती जोगाउन गाउँपालिकाले योजना बनाएर काम गरिरहेको जनाएको छ। पछिल्लो दुई आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ‘मेसिनरीवाल’को व्यवस्था गरेर बस्ती संरक्षणको काम गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए।

उनले भने, ‘पहिरो रोक्नका पालिकाले दुई आर्थिक वर्षमा बजेट विनियोजन गरी मेसिनरीवाल लगाएको छ। यसबाट बस्तीको संरक्षण हुने अपेक्षा लिएका छौँ।’

पहिरोको जोखिम कम गर्न गाउँपालिकासँग सहकार्य गरेर वडा कार्यालयले पनि काम गरिरहेको वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताए। उनका अनुसार बस्ती जोगाउन लगाइएको मेसिनरीवालमा हालसम्म रु आठ लाख खर्च भइसकेको छ।

पछिल्लो समय सराथोक गाउँका हरेक घरमा खानेपानीको धारा जडान गरिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment