पोर्चुगल फुटबल टिमका प्रशिक्षक सान्तोस पदबाट अलग

१ पुस, काठमाडौं । पोर्चुगल फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन् । कतार विश्वकपमा पोर्चुगलको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक सान्तोसले पदक छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ ।

कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो । त्यसपछि नै उनको पद धरापमा परेको थियो । पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले पद त्यागेको बताइएको छ।

सन् २०१४ देखि पोर्चुगलको प्रशिक्षक रहेका सान्तोसले पोर्चुगललाई २०१६ को युरो कप उपाधि दिलाएका थिए । यस्तै २०१९ को युइएफए नेसन्स लिग पनि जिताएका थिए ।

सान्तोसले अन्तिम खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेका थिए । त्यसअघि अन्तिम १६ मा स्वीजरल्याण्ड विरुद्धको खेलमै रोनाल्डोलाई बेन्चमा राख्दै गोन्सालो रामोसलाई पहिलो रोजाइमा खेलाएका थिए । रामोसले त्यही खेलमा जारी विश्वकपको पहिलो ह्याट्रिक गरेका थिए ।

पोर्चुगल फुटबल संघले ८ वर्षसम्म गरेको योगदानका लागि सान्तोसलाई धन्यवाद दिँदै नयाँ प्रशिक्षक छनोटको प्रक्रिया अघि बढाउने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment