इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२५ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।
फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । तर, केन दोस्रो पटकको पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो ।

रोमान्चक खेलको १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । उनले एन्टोनियो ग्रीजम्यानको पासमा उत्कृष्ट गोल गरे ।

तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । फ्रान्सका चुवामेनीले बुकायो साकालाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।

यस गोलसँगै केनले वायन रुनीको नाममा रहेको इंग्ल्यान्डका लागि सर्वाधिक ५३ गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । उनले ग्रीजम्यानकै पासमा गोल गरेका हुन् ।

खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले दोस्रो पटक पेनाल्टी पाएको थियो । तर, केनको पेनाल्टी प्रहार बाहिरिएको थियो ।

त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २-१ ले विजयी भयो ।

अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

मोरक्को पोर्चुगललाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment