एकीकृत समाजवादी राष्ट्रिय दल बन्न असफल

२१ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय दल बन्न असफल भएको छ ।

पहिलोपटक आमनिर्वाचनमा सहभागी भएको एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेपनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन ।

राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । एकीकृत समाजवादीले कुल सदर मतको दुई दशमलब ८२ प्रतिशत मात्रै मत ल्याएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा १ करोड ९ लाख ७३ हजार एक सय ३७ मत खसेको थियो । जसमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ ।

एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत मात्रै पाएको छ । यो कुल सदर मतको दुई दशमलब ८२ प्रतिशत हो । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत आवश्यक पर्छ । राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगको तथ्यांकले देखाउँछ ।

अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले पाएको छ । उसले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ६५५मत पाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment