राधी विद्युत कम्पनीको लिलामी सेयरको बोलपत्र खोलियो, कति आयो कटअफ ?

१४ मंसिर, काठमाडाैं । राधी विद्युत कम्पनी लिमिटेडले लिलामीमा ल्याएको हकप्रदमा अवितरित १३ लाख कित्ता सेयरको बुधबार बोलपत्र खुला गरिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लिलामी सेयरको प्रारम्भिक कटअफ मूल्य १९५ रुपैयाँ निर्धारण हुन आएको छ । बुधबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिसेयर २३० रुपैयाँमा कारोबार भैरहेको छ । यसअनुसार कम्पनीको लिलामी सेयरमा कायम भएको कटअफ ३५ रुपैयाँ कम अर्थात १५.२२ प्रतिशत थोरै हो ।

राधी विद्युत कम्पनीको लिलामी सेयर खरिदका लागि आह्वान गरिएको बोलकबोलमा कुल १ हजार ९८५ वटा आवेदन परेको थियो । यसअनुसार कम्पनीको सेयर खरिदका लागि १९५ रुपैयाँ वा सोभन्दा माथि अंकित गरी बोलपत्र पेश गर्ने आवेदकले लिलामी सेयर सकारेका छन् । यद्यपी अन्तिम तथ्याङ्क आउँदा भने केही हेरफेर पनि हुनसक्ने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटको भनाई छ ।

संस्थागत लगानीकर्ताकोतर्फ सगरमाथा इन्स्योरेन्सले १८५ रुपैयाँका दरले १ लाख कित्ता, सुर्या लाइफ इन्स्योरेन्सले १६१.०५ रुपैयाँका दरले १ लाख कित्ता, अल्फा क्यापिटलले १८६ रुपैयाँका दरले १ लाख कित्ता, लाइफ इन्स्योरेन्स कर्पारेसन लिमिटेडले १७७ रुपैयाँका दरले ५० हजार कित्ता र एशियन लाइफ इन्स्योरेन्सले १७२ रुपैयाँका दरले १० हजार कित्ताको लागि बोलपत्र पेश गरेपनि ती कुनैपनि संस्थाले सेयर पाउन सकेनन् ।

कम्पनीको लिलामी सेयरमा लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गरी न्यूनतम १०० कित्तादेखि अधिकतम पुरै कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीले कात्तिक २९ गते मंगलबारदेखि मंसिर ८ गते बिहीबारसम्म विद्यमान सेयरधनी सदस्यका लागि असोज ६ देखि असोज २५ गतेसम्मका लागि ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५०५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २३३ कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १३ लाख ५२७ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी विद्युत स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ जेठ ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19healthnepalNewsPolitic
Comments (0)
Add Comment