ट्वान्टी–२० विश्वकप : पाकिस्तानले दोहोर्‍याउला १९९२ को त्यो इतिहास ?

२७ कार्तिक, काठमाडौं । सन् १९९२ मा पाकिस्तानले अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डलाई हराउँदै पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । त्यसको ३० वर्षपछि आज (आइतबार) पुनः एकपटक पाकिस्तानले मेलबर्न क्रिकेट मैदानमै ट्वान्टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्यान्डसँग खेल्दैछ ।

उपाधिका लागि इंग्ल्यान्डसँग खेल्दै गर्दा सन् १९९२ को एकदिवसीय विश्वकपसँग मिल्न गएको पाकिस्तानको संयोग गज्जबको छ ।

पाकिस्तानले १९९२ को विश्वकपमा उपाधिका लागि इंग्ल्यान्डसँग नै खेलेको थियो । र, फाइनलमा उपाधिका लागि खेल्नुअघि त्यसबेला पनि पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।

एकदिवसीय विश्वकपको त्यो संस्करण अस्ट्रेलियामै भएको थियो । त्यसबेला पनि फाइनल खेल मेलबर्न क्रिकेट मैदानमा नै भएको थियो । जहाँ इंग्ल्यान्डलाई २२ रनले पराजित गर्दै पाकिस्तानले पहिलो एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । अझ रोमाञ्चक संयोग के भने त्यसबेला पनि अस्ट्रेलिया विश्वकपको साबिक विजेता थियो र प्रतियोगिताको सेमिफाइनलमा पुग्न सकेको थिएन । अहिले पनि अस्ट्रेलिया ट्वान्टी–२० विश्वकपको साबिक विजेता भएपनि सेमिफाइनल पुग्न भने असफल भयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment