नवौँ सम्पन्न, दसौँ कर्णालीमा, आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

०४ कात्तिक, पोखरा । विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा यसअघिको दुई संस्करणको च्याम्पियन आर्मीले सर्वाधिक ३ सय ७१ पदक जित्दै समग्रमा टिम च्याम्पियन बन्दै रनिङ सिल्ड जित्न सफल भएको हो । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक यसै राष्ट्रिय खेलकुदमार्फत च्याम्पियनसिप ट्रफी प्रदान गर्दै छ । ट्रफी १० लाख रुपैयाँमा तयार भएको राखेपले यसअघि नै जानकारी दिइसकेको छ ।

आफूले सहभागिता जनाएको हरेक स्पर्धामा दबदबा कायम गरेको आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कांस्य गरी कुल ३ सय ७१ पदक जित्न सफल भयो । आर्मीले टिम इभेन्ट्सको मुख्य स्पर्धा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, पुरुष बास्केटबल र पुरुष ह्यान्डबलमा उपाधिको दाबेदारका रूपमा हेरिए पनि स्वर्ण भने जित्न सकेन । पछिल्लो दुई संस्करणजस्तै शीर्ष ३ मा विभागीय टोली नै रहे । त्यसअघि राष्ट्रिय खेलकुदको सुरुवाती तीन संस्करण बाग्मती अञ्चल र चौथोदेखि छैटौंसम्म मध्यमाञ्चल च्याम्पियन बनेको थियो ।

अन्तिम दिन मुख्य स्पर्धामा स्वर्ण जितेको एपीएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कांस्य गरी कुल २ सय १९ पदक जित्दै दोस्रो स्थान कब्जा गर्न सफल भयो । पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य गरी कुल १ सय ९५ पदक जित्न सफल भयो । घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्ये पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य गरी कुल १ सय २० पदक जित्यो । बाग्मती प्रदेशले २४ स्वर्ण, ४७ स्वर्ण र ७४ कांस्य गरी कुल १ सय ४५ पदक जितेर पाँचौं भयो । प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कांस्य गरी ८३ पदक जितेको छ ।

सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कांस्य गरी कुल ६३ पदक जित्यो । एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कांस्य गरी २६ पदक जितेको छ । लुम्बिनीले ६ स्वर्ण, २२ रजत र ४० कांस्य गरी ६८ पदक जित्दा मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कांस्य गरी ३९ पदक हात पारेको छ । कर्णाली २ स्वर्ण, ४ कांस्य र १२ पदक जितेर पुछारमा रह्यो ।

एथलेटिक्समा यसपटक आर्मीकी जयरानी थारू चम्किइन् । उनले खेलको सबै पाँच स्पर्धामा स्वर्ण जित्दा तीन स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् । आर्मीबाट प्रतिनिधित्व गरेकी जलपरी गौरिका सिंहले अस्वस्थका कारण केही इभेन्ट्स छाड्दा आर्मीकै अर्की खेलाडी डुवाना लामाले सर्वाधिक ९ स्वर्ण जित्दै नयाँ स्टारका रूपमा उदाइन् । २८ असोजबाट औपचारिक रूपमा सुरु भएको प्रतियोगितामा ३६ खेलको विभिन्न स्पर्धामा ११ प्रदेशका ६ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । राजधानी दैनिकबाट



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment