भारतविरुद्धको एक दिवसीयमा दक्षिण अफ्रिका विजयी

२१ असाेज, एजेन्सी । भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको छ । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिम आईसीसी टी २० विश्वकप खेल्न अष्ट्रेलिया प्रस्थान गरेपछि शिखर धवनको कप्तानीमा भारतले दक्षिण अफ्रिकासँग ३ म्याचको एक दिवसीय क्रिकेट खेलिरहेको छ । अहिलेको टिममा विश्वकपमा सहभागी नभएका खेलाडीलाई समावेश गरिएको छ । गएराति भएको खेलमा भारत ९ रनले पराजित भएको हो । वर्षाका कारण खेल ढिला भएपछि ४० ओभरमा घटाइएको थियो ।

दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २४९ रन बनाएको थियो । डेभिड मिलरले ६३ बलमा ७५ रन बनाउँदा हेनरिक क्लासेनले ६५ बलमा ७४ रनको नटआउट पारि खेले । जवाफमा भारतले ४० ओभरमा ८ विकेट गुमाएर २४० रनमात्रै बनाउन सक्यो । भारतका सन्जु सामसनले ६३ बलमा ८६ रनको नटआउट पारि खेल्दा श्रेयस अय्यरले ५० रनको अर्धशतकीय पारि खेले । जितपछि दक्षिण अफ्रिकाले सिरिजमा १–० को अग्रता लिएको थियो ।

दक्षिण अफ्रिकाको उत्कृष्ट सुरुआत

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रह्यो । जानेमन मलान र क्विन्टन डीकक मिलेर पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । यो जोडीलाई सार्दुल ठाकुरले तोडेका थिए । जानेमन मलान २२ रन बनाएर आउट भएका थिए । त्यसपछि टेम्बा बामुभा व्यक्तिगत ८ रनमा आउट भएका थिए । उनलाई पनि ठाकुरले नै आउट गरे । एडेन मार्करम पनि खाता नै नखोली क्लीन बोल्ड भएका थिए ।

त्यसपछि डेभिड मिलर र हेनरिक क्लासेनले उत्कृष्ट पारि खेले । यी दुई खेलाडीले पाँचौं विकेटका लागि १०६ बलमा १३९ रनको नटआउट साझेदारी गरेका थिए । अन्तिम ५ ओभरमा ५५ रन जोडेका थिए । क्लासेनले एक दिवसीय करियरमा चौथो अर्धशतक बनाए भने मिलरले १८ औं अर्धशतक बनाए । त्यसपछि दक्षिण अफ्रिकाले ४० ओभरमा २४९ रन स्कोरवोर्डमा बनायो । भारतका शार्दुल ठाकुरले २ विकेट लिँदा कलुदीप यादव र रवि विश्नोईको नाममा १–१ विकेट रह्यो ।

भारतको खराव सुरुआत

२५० रनको लक्ष्य पछ्याउने क्रममा भारतको सुरुआत भने विर्सन लायक रह्यो । ८ रनमा भारतले दुई विकेट गुमाएको थियो । दुवै ओपनर आउट भएका थिए । शिखर धवन ४ तथा शुभमन गिल ३ रन बनाएर पभेलियन फर्किएका थिए ।

त्यसपछि ऋतुराज गायकवाड र ईशान किशनले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । ऋतुराज १९ रन बनाएर आउट भए । लगत्तै इशान पनि २० रन बनाएर पभेलियन फर्किए । ५१ रन हुँदा भारतले ४ विकेट गुमाएको थिो ।

उपकप्तान श्रेयस अय्यर र सन्जु सामसन मिलेर पाँचौं विकेटका लागि ६७ रनको साझेदारी गरे । श्रेयसले ५० रनको अर्धशतकीय पारि खेले । त्यसपछि सन्जु सामसन र शार्दुल ठाकुर मिलेर छैटौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै भारतीय खेमामा जितका आशा कायमै राखेका थिए । शार्दुल रनको गति बढाउने चक्करमा आउट भए । उनले ३३ रन बनाएका थिए । त्यसपछि कुलदीप यादवले खाता पनि खोल्न सकेनन् भने आवेश खान रनआउट भए ।

अन्तिम ओभरमा भारतलाई जितकालागि ३० रन आवश्यक रहेको थियो । बलिङमा तबरेज शम्सी थिए । पहिलो बल उनले वाइड फाले । त्यसपछिको बेलमा सामसनले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरे । चौथो बलमा कुनै पनि रन बनाउन सकेनन् । पाँचौ बलमा चौका प्रहार गरे । अन्तिम बलमा सामसनले १ रनमात्रै लिएपछि खेलमा भारत ९ रनले पराजित भयो । सामसनले करियरको दोस्रो अर्धशतक बनाए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarPolitic
Comments (0)
Add Comment