युक्रेनमा रुसको कब्जाको चर्चा : बाइडेनले पुटिनलाई दिए कडा चेतावनी

१४ असाेज, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार युक्रेनी नियन्त्रित क्षेत्रमा रुसले गरेको जनमत संग्रहलाई आफूले कहिल्यै मान्यता नदिने बताएका छन् । उनले रुसको कदमलाई अन्तर्राष्ट्रिय नियमको ‘लज्जाजनक उल्लंघन’ बताएका छन् ।

वासिङ्टनमा प्रशान्त महासागरका देशका नेताहरूसँग भेट गर्दै बाइडेनले भने, ‘म यो स्पष्ट पार्न चाहन्छु कि युक्रेनको भूभागमा रुसले गरेको दाबीलाई म कहिल्यै मान्यता दिने छैन । यो तथाकथित जनमत संग्रह झुट हो । उनीहरुको नतिजा मस्कोमा तयार भइसकेको छ । ’

‘युक्रेनका जनता के चाहन्छन् भन्ने कुरा यसबाट प्रष्ट हुन्छ कि उनीहरूले आफ्ना जनता र आफ्नो देशको स्वतन्त्रता जोगाउन हरेक दिन आफ्नो जीवन बलिदान गरिरहेका छन् ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा बोल्दै बाइडेनले भने, ‘पुटिनको साम्राज्यवादी महत्वाकांक्षाका कारण युक्रेनमा रुसले गरेको आक्रमण संयुक्त राष्ट्रको बडापत्र र सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको आधारभूत सिद्धान्तको ठूलो उल्लङ्घन हो ।’

क्रेमलिनले रुसको कब्जामा रहेको युक्रेनका चार क्षेत्रमा भएको जनमत संग्रहको नतिजा शुक्रबार औपचारिक रूपमा घोषणा गरिने जनाएको छ ।

हालै पुटिनले आफ्नो क्षेत्र बचाउन आणविक हतियार प्रयोग गर्ने हदसम्म जान सक्ने बताएका छन् ।

यस वर्षको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीच सात महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment