कागेश्वरी मनोहरा नगरपालिकाकाे डेंगु राेगविरुद्ध जन-चेतनामूलक कार्यक्रम सम्पन्न

२९ भदौ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा डेंगु राेगविरुद्ध जन-चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिका र नेपाल रेडक्रसको संयुक्त आयोजनामा ९ वटै वडाका पहिलो चरणको जन-चेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले योजना बनाएरै नगरका टोल-टोल र चोकमा पुगेर जन-चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगीले जानकारी दिए ।

जसअनुसार पहिलो दिन ७/८/९, दोश्रो दिन ४/५/६ र तेश्रो दिन १/२/३ वडामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वम्सेविका र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

देशभर डेंगु संक्रमित हुनेको संख्या नौ हजार आठ सय ३५ पुगेको छ  । डेंगुबाट काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित छ  । डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या काठमाडौं र ललितपुरमा छ  । ललितपुरमा तीन हजार ६ सय २२ र काठमाडौंमा दुई हजार चार सय १४ जनामा डेंगु संक्रमण भएको छ  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको छ । उपत्यकामा संक्रमण तीव्र छ ।

के हो डेंगु ?

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।

डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

कसरी गरिन्छ उपचार ?

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।

क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ ।

डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन ।

डेंगु ज्वरोका बिरामीहरुलाई राहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने
– शरीरमा विमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19denguehealthLockdownnepalNewsPoliticUpendra Karki
Comments (0)
Add Comment