आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन, गोकर्णमा भक्तजनहरूकाे भिडभाड (फाेटाेफिचर)

११ भदाै, काठमाडौं । आज कुशे औँसी । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

बुबाको मुख हेर्ने दिन पनि आजै

आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

आजै नेपाली साहित्यका युगकवी मोतीराम भट्टको १५२औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम संवत् १९२३ साल भाद्र कृष्ण औँसी अर्थात कुशे औँसीका दिन जन्मिएका मोतीरामको विक्रम संवत् १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएको थियो भने नेपालमा छापाखानासमेत भित्र्याएको थियो । नेपाली भाषामा गजलको सुरुवात पनि मोतीरामले नै गरेको मानिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment