राष्ट्रपतिको विरोधमा भैरहवामा प्रदर्शन, पुत्ला दहन

०१ भदाै, भैरहवा । नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समेत गरिएको छ ।

पार्टीले भैरहवास्थित मिलनचोकमा मंगलबार प्रदर्शन तथा विरोध सभा गरेको जसपा निकट समाजवादी युवा संघ, नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष विकास यादवले बताए ।
कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनु दुःखद भएको बताए । उनले जनताले राजनीतिक दल चिन्ने बेला आएको बताए ।

पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश यादवले राष्ट्रपति तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने माग गरे । उनले राष्ट्रपति सिंगो मुलुकको कि एउटा पार्टीको भन्दै प्रश्न गरे ।

पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिलाउन सरकार अगाडि बढेको बेला राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको बताए ।

नागरिक अगुवा आनन्द प्रसाद गुप्ताले नागरिकता नभएकै कारण लाखौं नागरिक विभिन्न अवसरबाट वञ्चित भएको बताए । उनले राष्ट्रपतिको कदम गलत भएको आरोप लगाए ।
जसपाका नेता शतिषचन्द्र मिश्राले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिनुपर्ने बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment