मंकीपक्स विश्वभर फैलिएपछि बाँदर मार्न थालियो, बाँदर नमार्न डब्लूएचओको आग्रह

२७ साउन, एजेन्सी । कोरोना भाइरसको महामारी नसकिँदै विश्वमा मंकीपक्स भाइरसको त्रास बढेको छ।

यो भाइरस विश्वभरका दर्जनभन्दा बढी मुलुकमा देखा परिसकेको छ। मंकीपक्स विश्वभर फैलनुमा दोषी रहेको हल्ला चलेपछि विश्वका विभिन्न स्थानमा बाँदर मार्ने अभियान थालिएको छ।

तर विश्व स्वास्थ्य संगठन डब्लूएचओले मंकीपक्स भाइरस फैलनुमा बाँदर जिम्मेवार नभएको बताएको छ।

ब्राजिलमा हालै १० बाँदरलाई विष दिएर मारिएपछि डब्लूएचओले बाँदर नमार्न आग्रह गर्दै मंकीपक्स फैलनुमा यो जनावर जिम्मेवार नभएको बताएको हो।

ब्राजिलमा हालसम्म २ हजारभन्दा बढीमा मंकीपक्सको संक्रमण देखा परेको छ जसमध्ये एक जनाले ज्यान गुमाएका थिए। मंकीपक्सबाट स्पेन र भारतमा पनि एक–एक जनाको ज्यान गएको छ।

यसरी बाँदरलाई ब्राजिलमा मार्न थालिएपछि डब्लूएचओका प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले मंकीपक्स हालैका दिनमा बाँदरबाट मानिसमा नभएर मानिसबाट नै मानिसमा सरिरहेको बताइन्।

उनका अनुसार बाँदर मार्ने भन्दामा पनि हामीले भाइरसको संक्रमण रोक्ने विषयमा ध्यान दिनुपर्ने बताएकी छिन्।

उनले जनावरबाट मंकीपक्स भाइरस सर्ने सम्भावना भएता पनि हालसम्म मानिसबाट नै मानिसमा यो भाइरस सरेको देखिएको स्पष्ट रुपमा बताइन्।

डब्लूएचओले मंकीपक्स भाइरसको जोखिम मानिसमा कम भएको दोहोर्याउँदै आएको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार पनि यो भाइरसबाट संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन्।

के हो मंकीपक्स
मंकीपक्स एक बिमारी हो जुन मंकीपक्स भाइरसबाट सर्दछ। यो एक भाइरल जुनोटिक संक्रमण हो, यसको मतलब यो जनावरबाट मानिसमा फैलिन सक्छ। यो व्यक्तिबाट व्यक्तिमा पनि फैलिन सक्छ।

धेरैजसो अवस्थामा मंकीपक्सका लक्षणहरू केही हप्ताभित्रै आफैं हट्छन् र बिमार मानिस निको हुन्छन्। यद्यपी केही मानिसहरूमा यसले स्वास्थ्य जटिलता निम्त्याउनसक्छ, केहीको मृत्युसमेत हुनसक्छ।

नवजात शिशुहरू, बच्चाहरू र शरीरको प्रतिरक्षा प्रणाली कमजोरी भएका व्यक्तिहरूलाई यस भाइरसबाट खतरा हुनसक्छ।

यो भाइरसको संक्रमण भएका १ देखि १० प्रतिशत मानिसहरु मात्र हालसम्म जटिल अवस्थामा पुगेको पाइएको छ।

मंकीपक्सका लक्षणहरु
ज्वरो लगातार आउनु, शरीरले चिसो महसुस गर्नु, घाँटी वरपर सुन्निनु, थकावट लाग्नु, मांशपेशी र ढाँड दुख्नु, टाउको दुख्दु, स्वास प्रश्वासजन्य समस्या देखिनु, शरीरमा फोकाहरु देखापर्नु मंकीपक्सका लक्षणहरु हुन्। यस्ता लक्षण देखिए हामी अस्पताल जानुपर्छ।

वासिङ्टन पोस्ट र डब्लूएचओ



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment