प्रधानमन्त्री कार्यालय समेत कब्जा गर्ने प्रयासमा श्रीलंकाका प्रदर्शनकारी

२९ असार, कोलम्बो । चरम आर्थिक संकटमा रहेको श्रीलंकामा अहिले सरकार विरोधी प्रदर्शन तीव्र बन्दै गएको छ। सरकारविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवास कब्जा गरिसकेका छन्। अहिले प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालय छिर्ने प्रयासमा छन्।

विरोध प्रदर्शन व्यापक बन्दै गएपछि त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ। राजधानीसहित देशका मुख्य सहरमा कर्फ्यू आदेश समेत जारी गरिएको छ।

प्रदर्शनकारीहरुले बुधबार बिहानैदेखि प्रधानमन्त्री कार्यालय घेराउ गरिरहेका छन्।

राष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा दिएर देश छाडेपछि प्रदर्शनकारीहरु प्रधानमन्त्री रनिल विक्रमासिंघे केन्द्रित भएका छन्। प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको समेत राजीनामा माग गरिरहेका छन्।

हजारौं प्रदर्शनकारी प्रधानमन्त्री कार्यालय बाहिर जम्मा भएका छन्। कति गेटमा चढिरहेका छन् भने कतिले गेट तोडफोडको कोसिस गरिरहेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रदर्शनकारीले सुरक्षामा रहेका प्रहरीतर्फ बोत्तल समेत प्रहार गरिरहेका छन्, तर प्रहरी भने प्रतिवादमा उत्रिएको छैन।

उक्त क्षेत्रको आकाशमा सेनाका हेलिकोप्टर समेत देखिएका छन्। प्रधानमन्त्री कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्। उनीहरुलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिएको छ। राष्ट्रपति राजपक्षे भागेपछि विक्रमासिंघे कार्यबाहक राष्ट्रपति बनेका हुन्।

श्रीलंकाको संविधानअनुसार उनी ३० दिनसम्म कार्यवाहक राष्ट्रपति बन्न सक्छन्। तर, प्रदर्शनकारी भने यो संकटका लागि गोटाबायासँगै विक्रमासिंघे पनि जिम्मेवार रहेको बताइरहेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment